लक्ष्मण सापकोटा/रत्ननगर, असार ४ ।
रत्ननगर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना अभियान’अन्तर्गत वडा नम्बर ४ मा बुधबार सचेतना कार्यक्रम गरेको छ। असार २ गते वडा नम्बर १३ बाट सुरु भएको यो अभियानले विपन्न र सीमान्तकृत समुदायलाई सामाजिक सुरक्षा भत्ताको महत्त्व, प्रक्रिया र प्रावधानबारे जानकारी दिने उद्देश्य राखेको छ।
कार्यक्रममा उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको बताए। उनले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र साउन–भदौमा वडा कार्यालयमार्फत नवीकरण गर्नुपर्ने जानकारी दिए। ‘नवीकरण नगरे भत्ता रोकिन्छ, तर स्वास्थ्य अवस्थाले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्छन्,’ उनले भने। विदेशमा रहेका व्यक्तिको भत्ता नवीकरण नहुने, तर स्वदेश फर्किएपछि निवेदन दिएमा अर्को महिनादेखि भत्ता पुनः सुरु हुने उनले प्रष्ट पारे। अन्य जिल्लामा रहेकाले सम्बन्धित पालिकाबाट नवीकरण गर्न सकिने बताए।
रत्ननगरमा वार्षिक करिब ३२ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको र हाल १२ वटा बैंकमार्फत १६ वटै वडामा भत्ता वितरण भइरहेको बस्ताकोटीले जानकारी दिए। ‘छिट्टै बैंकको संख्या १६ पुर्याउने लक्ष्य छ,’ उनले थपे। पेन्सन लिनेले सामाजिक सुरक्षा भत्ता नपाउने र दोहोरो सुविधा लिन नमिल्ने उनले स्पष्ट पारे। ज्येष्ठ नागरिक भत्ताको उमेर सीमा ६८ बाट ७० वर्ष पुर्याइएको र नेपालमा वार्षिक साढे एक खर्ब भत्तामा खर्च हुने गरेको उनले उल्लेख गरे। भत्ताको दुरुपयोग रोक्न यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरीले यो अभियानले भत्ता पाइरहेका र योग्य व्यक्तिलाई सहजीकरण गर्ने बताए। ‘स्वास्थ्य अवस्थाले बैंकसम्म पुग्न नसक्नेका लागि वडाले बैंकसँग समन्वय गरी घरमै भत्ता वितरणको व्यवस्था गरेको छ,’ उनले भने। भत्तासम्बन्धी समस्या परे वडा कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे।
कार्यक्रममा वडा सदस्य आस्मा खातुन, मिना विश्वकर्मा र वडा सचिव पुष्पराज आचार्यको सहभागिता थियो। सहभागीका तर्फबाट राम बहादुर विश्वकर्मा र फागु महतोले भत्तासम्बन्धी समस्या राखेका थिए ।
यो अभियान वडा नम्बर १३ बाट सुरु भई मंगलबार वडा नम्बर १२ मा गरिएको थियो। बस्ताकोटीका अनुसार असार ५ गते वडा नम्बर ६ को ओद्रा र दोरङ्गी टोलमा तथा असार ६ गते वडा नम्बर ३ को नमूना टोलमा कार्यक्रम हुनेछ। स्थानीय टोल विकास संस्थासँग समन्वय गरी सञ्चालित यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ। ‘सम्बन्धित टोलका बासिन्दालाई सहभागी भई जानकारी लिन आह्वान गर्छु,’बस्ताकोटीले भने।