रत्ननगरमा ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान सुरु

June 16, 2025 10:25 am

लक्ष्मण सापकोटा/रत्ननगर, असार २ । 

रत्ननगर नगरपालिकाले विपन्न र सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना अभियान’ सुरु गरेको छ। सतप्रतिशत घटना दर्ता अभियानअन्तर्गत सञ्चालित यो कार्यक्रम सोमबार वडा नम्बर १३ को प्रेमवस्ती र रामजानकी टोलमा आयोजना गरी सुरु भएको छ। असार ६ गतेसम्म चल्ने यो अभियानले नगरपालिकाका विभिन्न वडाका टोलहरूमा सामाजिक सुरक्षा भत्ताको महत्व र प्रक्रियाबारे जानकारी दिने लक्ष्य राखेको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको बताए। उनले भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र साउन-भदौमा वडा कार्यालयमा नवीकरण गर्नुपर्ने जानकारी दिए। ‘नवीकरण नगरे भत्ता रोकिन्छ,’ उनले भने, ‘स्वास्थ्य कारणले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्छन्।’

विदेशमा रहेका व्यक्तिको नवीकरण नहुने, तर स्वदेश फर्किएपछि निवेदन दिएमा अर्को महिनाबाट भत्ता पाइने बस्ताकोटीले प्रष्ट पारे। अन्य जिल्लामा रहेका व्यक्तिले त्यहीँबाट नवीकरण गर्न सक्ने र हाल नगरपालिकाले १२ वटा बैंकमार्फत १६ वडामा भत्ता वितरण गरिरहेको उनको भनाइ थियो। वडा नम्बर १३ मा कामना सेवा विकास बैंकमार्फत भत्ता वितरण भइरहेको छ।

बस्ताकोटीले पेन्सन लिने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने र दोहोरो सुविधा लिन नमिल्ने बताए। ज्येष्ठ नागरिकको भत्ताका लागि पहिले ६८ वर्षको उमेर सीमा भए पनि हाल सरकारले ७० वर्ष पुर्‍याएको प्रावधान लागू गरेको उनले जानकारी दिए।

वडा नम्बर १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले यो अभियानले योग्य व्यक्तिलाई भत्ता प्राप्त गर्न सहज हुने बताए। ‘स्वास्थ्य कारणले बैंक जान नसक्ने लाभग्राहीका लागि हामीले घरमै भत्ता पुर्‍याउने व्यवस्था गरेका छौँ,’ उनले भने। वडा कार्यालय सधैँ सेवाग्राहीको सहयोगका लागि तयार रहेको उनको प्रतिबद्धता थियो।

वडा सदस्य शारदा न्यौपाने, रत्नकुमारी सार्की र वडा सचिव खगनाथ पराजुलीको उपस्थिति रहेको कार्यक्रममा स्थानीयवासीले विभिन्न जिज्ञासा राखेका थिए । कृष्णप्रसाद मरहठ्ठाले विदेशमा रहेका व्यक्तिको भत्ता, मुइया न्यौपाने र सोममाया नेपालीले एकल महिलाको सुविधा, गौरीकुमारी सार्की र दुर्गा पाण्डेले वृद्ध भत्ता र नवीकरणबारे प्रश्न गरे। बस्ताकोटीले सबै जिज्ञासाको जवाफ दिँदै प्रावधान र विकल्पबारे जानकारी गराए।

यो अभियान असार ३ गते वडा नम्बर १२ को सालघारी टोल, असार ४ गते वडा नम्बर ४ को बगैचा टोल, चौधरी मिलन टोल र भोकाहा टोल, असार ५ गते वडा नम्बर ६ को ओद्रा टोल र दोरङ्गी टोल, र असार ६ गते वडा नम्बर ३ को नमूना टोलमा सञ्चालन हुनेछ। नगरपालिकाले स्थानीय टोल विकास संस्थाहरूसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाइरहेको छ।

‘यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच बढाउन र सिमान्तकृत समुदायलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्छ,’ बस्ताकोटीले भने। नगरपालिकाले सम्बन्धित टोलका बासिन्दालाई कार्यक्रममा सहभागी भई जानकारी लिन आह्वान गरेको छ।