पञ्चकन्या माविको ६८औँ वार्षिकोत्सव : उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

June 9, 2025 10:06 pm

रत्ननगर, जेठ २६ ।

रत्ननगरको पञ्चकन्या माध्यमिक विद्यालयले आफ्नो ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न गरेको छ। रत्ननगर वडा नम्बर १३ मा रहेको विद्यालयले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गर्दै बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा सक्रिय अभिभावक र स्थानीय समाजसेवीहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश सांसद कृष्णप्रसाद शर्मा खनाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले विद्यालयको शैक्षिक, भौतिक र सामाजिक विकासका लागि आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘पञ्चकन्या मावि पूर्वी चितवनको शैक्षिक गौरव हो, यसलाई थप उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ।’

यस्तै विद्यालयमा कार्यरत लेखापाल तेजेस पौडेलले आफ्नी स्वर्गीय माता मनरुपा पौडेलको स्मृतिमा ५१,१५१ रुपैयाँको ‘स्व. मनरुपा पौडेल स्मृति अक्षयकोष २०८२’ स्थापना गरे । यो अक्षयकोषले विद्यालयका विपन्न विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गर्ने उद्देश्य राखिएको पौडेलले बताए ।

कार्यक्रममा वक्ताहरूले विद्यालयलाई आगामी दिनमा थप सशक्त र गुणस्तरीय बनाउन सामुदायिक सहभागिता र सरकारी सहयोगको महत्त्वमाथि जोड दिए। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य टोमराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।