
रत्ननगर,२५ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रत्ननगरको नेपाल नमूना माध्यमिक विद्यालयमा भएको अनियमित नियुक्ति प्रकरणमा प्रधानाध्यापक बुद्धिराज सुवेदी सहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा र प्रधानाध्यापक बुद्धिराज सुवेदीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कसुरमा कारबाही माग गरिएको छ ।
आयोगको अनुसन्धानका अनुसार, विद्यालय व्यवस्थापन समितिले २०५५ मा शिक्षक विजया सुवेदीलाई करारमा नियुक्ति गरेको थियो। तर, २०७८ भदौ ७ गते बसेको बैठकले आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन र व्यवस्थापन विनियम बनाई विजया सुवेदीलाई २०७८ साउन १ गते देखि निम्न माध्यमिक तृतीय श्रेणी सरहको सेवा-सुविधासहित स्थायी नियुक्ति दिने निर्णय गरेको थियो। साथै, कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्था समेत गरिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको रायअनुसार, सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई यस्तो दीर्घकालीन आर्थिक दायित्व सिर्जना गर्ने नियुक्तिको अधिकार नभएको पुष्टि भएको छ। विजया सुवेदी, जो तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलकी छोरी र प्रधानाध्यापक बुद्धिराज सुवेदीकी श्रीमती हुन्, उनि माथि आफ्नो प्रभाव प्रयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ। उनलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मतियारको कसुरमा मुख्य कसुरदार सरह सजाय माग गरिएको छ।
आयोगले उक्त प्रकरणमा संलग्न सबै पक्षविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो घटनाले सामुदायिक विद्यालयमा नियुक्ति प्रक्रियामा पारदर्शिता र कानुनी शासनको आवश्यकता पुनः उजागर गरेको छ।