
रत्ननगर, २४ जेठ ।
रत्ननगर नगरपालिकाको आर्थिक सहयोग र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित दुई छुट्टाछुट्टै तालिम शनिबार सम्पन्न भएको छ। महिलाहरूलाई सीप विकासमार्फत उद्यमी बनाउने उद्देश्यले आयोजित ‘उद्घोषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन’ र ‘बुके, माला तथा फूल सजावट’ तालिमले सहभागीहरूलाई व्यावसायिक र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको सभापतित्वमा आयोजित समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ र संघका संस्थापक अध्यक्ष हरिशरण पाठकले सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रममा अध्यक्ष गिरीले स्थानीय सरकारको सहयोगमा आयोजित यस्ता तालिमले महिलाहरूलाई उद्यमशील बनाउन र नेतृत्व विकासमा सघाउ पुर्याउने बताए। ‘महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र उनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न यी तालिमहरू महत्वपूर्ण छन्,’ उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले तालिमबाट सिकेका सीपलाई आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गरे। यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगर नगरपालिकाले विकास निर्माणसँगै सामाजिक र आर्थिक विकासलाई प्राथमिकतामा राखेको बताए। ‘उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना र आत्मनिर्भरता प्रवर्द्धन गर्न हामी प्रतिबद्ध छौँ,’ उनले जोड दिए।
कार्यक्रममा संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठ कोइरालाले धन्यवाद मन्तव्य राखिन्। तालिममा सहभागी अन्जु कुमारी क्षेत्री र जानकी चौधरीले आफ्नो अनुभव सुनाउँदै तालिमले व्यावसायिक र व्यक्तिगत विकासमा ठूलो सहयोग पुगेको बताए।
‘उद्घोषण, बैठक सञ्चालन तथा माइन्यूट लेखन’ तालिमका प्रशिक्षक सञ्चारकर्मी रामकान्त पौडेल र निरज श्रेष्ठ थिए भने ‘बुके, माला तथा फूल सजावट’ तालिमकी प्रशिक्षक सरिता बराल रहेकी थिइन्। यी तालिमहरूले सहभागी महिलाहरूलाई व्यावसायिक अवसर सिर्जना गर्न र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।