चितवनको कालिकामा भेटिए दुई नयाँ प्रजातिका पुतली

June 6, 2025 7:40 pm

रत्ननगर,जेठ २३।

चितवनको कालिका नगरपालिकामा दुईवटा नयाँ र दुर्लभ प्रजातिका पुतली फेला परेका छन् । कालिका नगरपालिका–९ को सिन्ती झरना र शक्तिखोर खोला नजिकै नेवारी तीन आँखे (Newar Three-ring) र इन्द्रजित (Plain Puffin) नामका पुतलीहरू भेटिएका हुन् ।

नेदरल्यान्ड्सका पुतलीविद् पिट भान डर पोल, टेकबहादुर गुरुङ र कपिल प्रसाद पोख्रेलको टोलीले सिन्ती झरना, शक्तिखोर खोला र गैरिबारी क्षेत्रमा पुतलीको सर्वेक्षण गरेको थियो । सोही क्रममा यी दुई दुर्लभ पुतलीहरू फेला परेका हुन् । पिट भान डर पोलले यी पुतलीहरू भुटानमा मात्र देखेको र नेपालमा पहिलोपटक चितवनमा भेटिएकोमा खुसी व्यक्त गरेका छन् ।

वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष टेकबहादुर गुरुङका अनुसार चितवनमा हालसम्म ३०० प्रजातिका पुतलीहरू फेला परेका छन् । तर, सिन्ती झरना र शक्तिखोर क्षेत्रमा पर्यटकको चाप बढेसँगै प्लास्टिक र सिसाका फोहोरले वातावरण बिग्रिएको उनले बताए । उनले स्थानीय सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए ।

सर्वेक्षणका क्रममा ३५ प्रजातिका पुतलीहरू भेटिएका थिए । कपिल प्रसाद पोख्रेलका अनुसार यी क्षेत्रमा हालसम्म १२० प्रजातिका पुतलीहरू फेला परिसकेका छन् । ‘पुतली बाजे’ कोलिन स्मिथले आफ्नो किताबमा यी दुई प्रजातिका पुतलीलाई अति दुर्लभ भनेर उल्लेख गरेका छन् ।

चितवनमा बाघ, गैंडा, भालु, हात्ती र दुर्लभ चराहरू मात्र नभई यस्ता पुतलीहरूले पनि यहाँको जैविक विविधता झल्काउँछ ।