चितवन,जेठ १७ ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सग्रुपमा रहेको राप्ती पुनर्स्थापना केन्द्रले देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा सरसफाइ र भोजन सेवा कार्यक्रम गरेको छ । केन्द्रका सञ्चालक गुणाराज गुरुङको नेतृत्वमा केन्द्रका सदस्यहरूले आश्रमको परिसर सफा गरेर वृद्धवृद्धाहरूलाई भोजन प्रदान गरेका छन् ।
गुरुङले यो कार्यक्रमको उद्देश्य केन्द्रमा रहेका व्यक्तिहरूलाई सामाजिक रूपमा पुनर्स्थापित गर्न बाहिरी वातावरणमा घुलमिल गराउनु रहेको बताए। ‘हामी मर्निङ वाक, इभनिङ वाक, फुटबल, बजार अवलोकन, योगा, थेरापी र सिनेमाघरमा चलचित्र हेर्ने जस्ता गतिविधिहरू सञ्चालन गर्छौँ, जसले मानसिक र सामाजिक स्वास्थ्य सुधारमा सहयोग पुर्याउँछ,’ उनले भने। केन्द्र सञ्चालन भएको करिब एक वर्षमा धेरै व्यक्तिहरू सुधार भएर घर फर्किएको र परिवारहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए। ‘यी गतिविधिहरूले समाजमा पुनर्स्थापना केन्द्रप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्छ,’ गुरुङले थपे।
वृद्धाश्रमका व्यवस्थापक कृष्ण प्रसाद आचार्यले राप्ती पुनर्स्थापना केन्द्रको यो कार्यको प्रशंसा गरे। ‘धेरै दाताहरूले सहयोग गर्छन्, तर सरसफाइ र भोजन सेवाको पहल कमै हुन्छ। यो प्रशंसनीय कार्य हो,’ उनले भने। आश्रमले ३७ जना वृद्धवृद्धा र सडक मानवसहित दैनिक १३० जनालाई भोजन प्रदान गर्दै आएको उनले जानकारी दिए।
केन्द्रका परामर्शदाता विश्लेषण अर्यालले हाल ७५ जना दुर्व्यसनी व्यक्तिहरूलाई विभिन्न गतिविधिमार्फत सामाजिक पुनर्स्थापनाको लागि केन्द्रले काम गरिरहेको बताए। सल्लाहकार नेत्र पुन, जो विगतमा दुर्व्यसनीबाट मुक्त भएका छन्, उनले आफ्नो अनुभव सुनाउँदै परामर्श प्रदान गरिरहेको बताए।
यो कार्यक्रमले केन्द्रमा रहेकाहरूलाई आत्मविश्वास र सामाजिक घुलमिलको अवसर प्रदान गर्नुका साथै पुनर्स्थापना केन्द्रप्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। यस्ता रचनात्मक गतिविधिहरूले अन्य पुनर्स्थापना केन्द्रहरूका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
