रत्ननगर, जेठ १६ ।
विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६औं स्थापना दिवसको अवसरमा रत्ननगर–१५, माधवपुरस्थित निःशुल्क दीपज्योति क्रियापुत्री भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका संस्थापक अध्यक्ष बामदेव शर्मा घिमिरेले संघको स्थापनादेखि हालसम्मको यात्रा स्मरण गर्दै यस्ता सामुदायिक कार्यको निरन्तरताको आवश्यकता औंल्याए। विशिष्ट अतिथि नेपाल विद्युतीय महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले संघको सक्रियता र व्यवसायीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिए।
निःशुल्क दीपज्योति क्रियापुत्री भवनका संरक्षक ठाकुर प्रसाद पन्त र संघका वर्तमान अध्यक्ष ठाकुर प्रसाद खरालले सामाजिक उत्तरदायित्व र सेवामूलक कार्यमा सहकार्यको महत्वमाथि जोड दिए। कार्यक्रमका सभापति तथा संघका अध्यक्ष विष्णु प्रसाद चालिसेले सामाजिक उत्तरदायित्वप्रति संघको दृढ प्रतिबद्धता व्यक्त गरे।
संघका कोषाध्यक्ष परमेश्वर भट्टराईको संयोजन र सचिव नारायण वंशीले सञ्चालन गरेको कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, सदस्य, स्थानीय बासिन्दा, सामाजिक कार्यकर्ता, व्यवसायी, पत्रकार र सरोकारवालाहरूको बाक्लो सहभागिता थियो।