रत्ननगर नगरपालिकाले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

May 28, 2025 6:24 pm

रत्ननगर,जेठ १४ ।

रत्ननगर नगरपालिकाले गणतन्त्र दिवस २०८२ लाई विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। नेपाल सरकार, गृह मन्त्रालयको परिपत्रअनुसार जेठ १४, १५ र १६ गते तीन दिनसम्म आयोजना हुने गणतन्त्र दिवस समारोहलाई रत्ननगर नगरपालिकाले उत्साहपूर्ण रूपमा मनाउने तयारी गरेको छ।

नगरपालिकाका कार्यवाहक मेयर यादव प्रसाद पाठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय, सार्वजनिक स्थल, र चोकहरूमा राष्ट्रिय झण्डा र ब्यानरले सजावट गरिने जानकारी दिए। उनले साँझ दीपावली कार्यक्रम आयोजना गरी गणतन्त्र दिवसलाई विशेष बनाइने बताए। साथै, सोही दिन नेपाल नमूना माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिने उनले उल्लेख गरे।

गृह मन्त्रालयको पत्रअनुसार गणतन्त्र दिवस मनाउन स्थानीय तहका प्रमुखको अध्यक्षतामा आयोजक समिति गठन गरी सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन, साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शनीजस्ता कार्यक्रम सञ्चालन हुने छन्। रत्ननगर नगरपालिकाले पनि यी गतिविधिहरूलाई प्राथमिकता दिँदै स्थानीयवासीलाई सहभागी हुन अनुरोध गरेको छ।

कार्यवाहक मेयर पाठकले सम्पूर्ण नगरवासीलाई दीपावलीलगायतका कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। साथै, स्थानीय सञ्चारमाध्यममार्फत गणतन्त्र दिवससम्बन्धी सन्देश र कार्यक्रमहरू प्रसारण तथा प्रकाशन गरिने उनले बताए।

गृह मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई राष्ट्रिय झण्डा मर्यादापूर्वक राख्न, दीप प्रज्ज्वलन गर्न र विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। रत्ननगर नगरपालिकाले यो अवसरलाई उत्सवका रूपमा मनाउन व्यापक तयारी गरिरहेको छ ।