माधवपुर गोल्डकप : प्याराडाइजलाई पराजित गर्दै पञ्चदिप सेमिफाइनलमा

May 27, 2025 9:01 pm

रत्ननगर, जेठ १३।

रत्ननगरको माधवपुरमा जारी दोस्रो माधवपुर गोल्डकप २०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार भएको खेलमा न्यु पञ्चदिप युवा क्लब सालघारीले प्याराडाइज फुटबल क्लब सिसुवारलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

माधवपुर खेलमैदानमा भएको चौथो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा न्यु पञ्चदिपका गोलकिपर विराज स्याङतानको उत्कृष्ट प्रदर्शनले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्यो। उनलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरियो।

यसअघि हेटौडा फुटबल एकेडेमी, अभिषेक चर्च रजहर र सशस्त्र प्रहरी बल सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। बुधबार हुने पहिलो सेमिफाइनलमा हेटौडा फुटबल एकेडेमी र अभिषेक चर्च रजहरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिनेछ। जेठ १८ गतेसम्म चल्ने यो प्रतियोगिताको मुख्य प्रायोजक एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज रहेको छ।