रत्ननगर, जेठ १३ ।
रत्ननगरको माधवपुरमा जारी दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा आज मंगलबार प्याराडाइज फुटबल क्लब सिसुवार र न्यू पञ्चदीप युवा क्लब सालघारीबीच प्रतिस्पर्धा हुँदैछ। रत्ननगर वडा नं. १५ स्थित माधवपुर खेल मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेलमा दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्न उच्च मनोबलका साथ मैदानमा उत्रने छन्।
न्यू पञ्चदीप युवा क्लबका कप्तान कुलदिप कार्कीको नेतृत्वमा टोली मैदानमा उत्रनेछ। टोलीमा दुई जना विदेशी खेलाडीसहित सात जना ए डिभिजन लिग खेलिसकेका खेलाडीहरू सहभागी हुने क्लबका अध्यक्ष राजु डंगोलले जानकारी दिए। यता, प्याराडाइज फुटबल क्लबका कप्तान देव गुरुङको नेतृत्वमा अन्डर–१९ राष्ट्रिय टोलीका तीन खेलाडीसहित छ जना ए डिभिजन लिग अनुभवी खेलाडीहरू मैदानमा उत्रने छन्। सोमबार सम्पन्न खेलमा अभिषेक चर्चले बागमती पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।
एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा आयोजित यस प्रतियोगितामा बागमती पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), प्याराडाइज युवा क्लब, अभिषेक चर्च (रजहर), हेटौँडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब (रत्ननगर–१२) सहभागी छन्।