दोस्रो माधवपुर गोल्डकप : अभिषेक चर्चले बागमती पुलिस क्लबलाई ३-१ ले हरायो

May 26, 2025 8:50 pm

रत्ननगर, जेठ १२ ।

माधवपुर खेलकुद विकास समितिको आयोजनामा रत्ननगरको माधवपुर फुटबल मैदानमा जारी दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा अभिषेक चर्च रजहरले बागमती पुलिसलाई ३-१ को गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ।

सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा रजहरले आक्रामक प्रदर्शन गर्दै खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो। दोस्रो हाफको २२औँ मिनेटमा समिप ढकालले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ३२औँ मिनेटमा अनिश मगर र ३८औँ मिनेटमा जनक कोइरालाले गोल थप्दै रजहरलाई ३-० को अग्रतामा पुर्‍याए। बागमती पुलिसले थप समयको चौथो मिनेटमा निर्मल रानाले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेन। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिषेक चर्च रजहरका सुजित बुढाथोकी ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलबार प्याराडाइज फुटबल क्लब सिसुवार र पञ्चदीप युवा क्लब रत्ननगर–१२ बीच प्रतिस्पर्धा हुनेछ। माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङका अनुसार खेलमा रत्ननगरका कार्यवाहक नगर प्रमुख यादव प्रसाद पाठक उपस्थित थिए। उनले खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै खेलको अवलोकन गरे।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा आयोजित यो प्रतियोगितामा बागमती पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), प्याराडाइज युवा क्लब, अभिषेक चर्च (रजहर), हेटौँडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब (रत्ननगर–१२) सहभागी छन्।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिनेछ।