जेठ १७ गते सौराहामा कृष्ण कँडेलसहित दोहोरी साँझ हुने

May 26, 2025 7:56 pm

रत्ननगर, जेठ १२ ।

पर्यटकीय नगरी सौराहामा यही जेठ १७ गते ‘रत्नज्योति इन्द्रेणी दोहोरी साँझ’ को आयोजना हुने भएको छ। रत्ननगर वडा नं. २ टाँडीस्थित रत्नज्योति क्लबको आयोजनामा हुने यो कार्यक्रममा इन्द्रेणीका चर्चित कलाकार कृष्ण कँडेलसहित अन्य कलाकारहरूले दोहोरी प्रस्तुति दिनेछन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य र तयारीबारे जानकारी दिँदै क्लबका अध्यक्ष रामबहादुर बर्तौलाले कार्यक्रम दिउँसो २ बजेदेखि सौराहा सभाहलमा सुरु हुने बताए। रत्ननगर नगरपालिकाको संरक्षणमा आयोजना हुने यो कार्यक्रमको मुख्य उद्देश्य असहाय वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको सहयोग रहेको क्लबका उपाध्यक्ष गोकुल पराजुलीले बताए। साथै, सौराहाको पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र सौराहा सभाहलको प्रचारप्रसार गर्ने थप लक्ष्य रहेको उनले प्रस्ट्याए।

कार्यक्रमको अनुमानित खर्च ७ लाख ४० हजार रहेको छ। आयोजकले ३ लाखको टिकट बिक्री गर्ने लक्ष्य राखे पनि हालसम्म २ लाखको टिकट बिक्री भइसकेको छ। टिकटको मूल्य २ हजार, १ हजार र ५०० रुपैयाँ तोकिएको छ।

क्लबका सहसचिव महेन्द्र घिमिरेले रत्नज्योति क्लबले स्थापनाको छोटो अवधिमै सामाजिक कार्यमा सक्रियता देखाएको बताए। राउटे समुदायलाई सहयोग, वृक्षारोपण, वृद्धवृद्धा सम्मान, तीज गीत, शिवालय मन्दिरमा महायज्ञ, देउसी–भैलो, वडा नं. २ को सहयोगमा ब्याडमिन्टन कोर्ट निर्माण र सरसफाइजस्ता कार्यक्रम क्लबले सम्पन्न गरेको उनले जानकारी दिए।

क्लबका सचिव रामचन्द्र बजगाईंका अनुसार दोहोरी साँझबाट बचत भएको रकम मानवीय सेवामा खर्च गरिनेछ। सांस्कृतिक र सामाजिक उद्देश्य बोकेर आयोजना हुने यो कार्यक्रमले सौराहाको पर्यटन र संस्कृतिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।