
रत्ननगर, जेठ ७ ।
रत्ननगर नगरपालिका र स्विट्जरल्यान्डको लिस्टल नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने ऐतिहासिक पहलको लागि मेयर प्रलाद सापकोटा बुधबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । शान्ति मेड नेपाल स्विट्जरल्यान्ड र लिस्टल सिटी काउन्सिलको विशेष निमन्त्रणामा सापकोटा बुधबार साँझ ७:३० बजे स्विट्जरल्यान्ड प्रस्थान गरेका हुन् । उनीसँगै बकुलहर रत्ननगर अस्पतालका पूर्वअध्यक्ष देबेन्द्र श्रेष्ठ पनि यस भ्रमणमा सहभागी छन् । यो भ्रमणले दुई शहरबीच दीर्घकालीन सहकार्य र विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
यो प्रस्तावित भगिनी सम्बन्धले रत्ननगर र लिस्टललाई शहर विकास, फोहोर व्यवस्थापन, प्राविधिक शिक्षा, पर्यटन, आधुनिक पशुपालन, कुखुरापालन, र दिगो नगरपालिका अभ्यासजस्ता क्षेत्रमा सहकार्यको अवसर प्रदान गर्नेछ। रत्ननगर नगरपालिकाले यो साझेदारीबाट दुवै शहरका लागि अर्थपूर्ण र दिगो लाभहरू प्राप्त हुने विश्वास व्यक्त गरेको छ। मेयर सापकोटाले भने, ‘यो सम्बन्धले हाम्रा समुदायबीच अनुभव, प्रविधि, र अवसरको आदानप्रदानलाई प्रोत्साहन गर्नेछ, जसले रत्ननगरको विकासलाई नयाँ उचाइमा पुर्याउनेछ।’
शान्ति मेड नेपाल स्विट्जरल्यान्ड र यसका संस्थापक अध्यक्ष डा. रूथ गोन्सेथको रत्ननगरको स्वास्थ्य क्षेत्रमा लामो समयदेखिको योगदान यो साझेदारीको महत्वपूर्ण आधार बनेको छ। डा. गोन्सेथको नेतृत्वमा शान्ति मेड नेपालले रत्ननगरमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सर्वसाधारणको स्वास्थ्यमा उल्लेखनीय प्रभाव पारेको छ। यो सहकार्यले अन्तर्राष्ट्रिय साझेदारीको सकारात्मक सम्भावनालाई प्रष्ट पार्छ।
पर्यटकीय नगरी सौराहा रहेको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिकाले पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको छ। यो भगिनी सम्बन्धले रत्ननगरको पर्यटकीय सम्भावनालाई विश्व बजारमा पुर्याउन र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
लिस्टल सिटी काउन्सिलसँगको यो सहकार्यले दुवै शहरका नागरिकहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने र दिगो विकासका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। मेयर सापकोटाले लिस्टल सिटी काउन्सिलको सकारात्मक प्रतिक्रिया र दुई शहरबीच बलियो र उत्पादनशील सम्बन्ध निर्माणको लागि आफू उत्साहित रहेको बताए। यो भ्रमण र सम्झौताले रत्ननगरलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्नुका साथै स्थानीय विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
मेयर सापकोटाको यो भ्रमणले दुई शहरबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै रत्ननगरको विकासमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास गरिएको छ। सापकोटाको भ्रमण जेठ २६ गतेसम्म चल्ने र सोही दिन नेपाल फर्कने कार्यक्रम रहेको छ।