जेठ १० देखि दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिता

May 20, 2025 3:57 pm

रत्ननगर, जेठ ६ ।

रत्ननगर नगरपालिका वडा नं. १५, माधवपुरमा यही जेठ १० गतेदेखि दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा जेठ १८ गतेसम्म चल्ने यो प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. रहेको छ। मंगलबार माधवपुरस्थित खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य र तयारीबारे जानकारी दिइयो।

प्रतियोगितामा बागमती पुलिस क्लब हेटौंडा, एपीएफ, प्याराडाइज युवा क्लब, अभिषेक चर्च रजहर, हेटौंडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब रत्ननगर-१२ सहभागी हुनेछन्। विजेता टिमले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई मेडल प्रदान गरिने क्लब अध्यक्ष गणेश तामाङले बताए।

यो प्रतियोगिताले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुका साथै खेलकुदमार्फत माधवपुर र रत्ननगरको पहिचान स्थापित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको तामाङले उल्लेख गरे। वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङले माधवपुर गोल्डकप रत्ननगरको पहिचान बनेको र स्थानीय सरकारको पूर्ण सहयोग रहेको बताए। उनले व्यक्तिको जग्गा भाडामा लिएर खेल मैदान तयार गरिएको र वडा कार्यालयले खेलकुद विकासलाई प्राथमिकता दिएको जानकारी दिए।

प्रतियोगिताको उद्घाटनका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई आमन्त्रण गरिएको छ। रत्ननगर नगरपालिका र वडा कार्यालय संरक्षक रहेको यो प्रतियोगिताको सञ्चालन रमेश नेपालले गरेका थिए। यो गोल्डकपले चितवनको खेलकुद र पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।