कालोमोसोको भाइरल भिडियो २०७४ सालको हो : रत्ननगर नगरपालिका

May 19, 2025 3:54 pm

रत्ननगर, जेठ ५ ।

रत्ननगर नगरपालिकाले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो हालको नभएर करिब आठ वर्ष पुरानो भएको स्पष्ट पारेको छ । भ्रष्टाचार र अनियमितताको आरोपमा एक इन्जिनियरलाई कालोमोसो दलेको भन्दै भाइरल भएको उक्त भिडियो २०७४ को भएको पुष्टि भएको छ । नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले यो भिडियो वर्तमान समयको नभएको र आफ्नो कार्यकालमा यस्तो कुनै घटना नघटेको प्रष्ट्याउनुभयो । ‘यो भिडियो २०७४ को हो, जसलाई गलत तरिकाले भाइरल बनाएर नगरपालिकाको बदनाम गर्ने प्रयास गरिएको छ । मेरो कार्यकालमा यस्तो कुनै घटना भएको छैन । नगरवासीलाई भ्रममा नपर्न अनुरोध गर्दछु,’ पाठकले भन्नुभयो ।

उपप्रमुख पाठकले रत्ननगर नगरपालिकाले पछिल्लो समय उल्लेखनीय प्रगति हासिल गरेको पनि बताउनुभयो । उनका अनुसार, चितवन जिल्लामै कम बेरुजु भएको नगरपालिकाको रूपमा रत्ननगरले प्रथम स्थान प्राप्त गरेको छ, जसले वित्तीय पारदर्शिता र अनुशासनको झलक देखाउँछ । त्यस्तै, लिजा एफआरएमा समेत चितवन जिल्लामा रत्ननगर प्रथम भएको छ । फोहोर व्यवस्थापनमा पुरस्कृत भएको र जलवायु उत्थानशील योजनाअन्तर्गत पुरस्कार प्राप्त गरेको नगरपालिकाले वातावरण संरक्षण र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँले बताउनुभयो ।

उपप्रमुख पाठकले भ्रामक प्रचारका बाबजुद रत्ननगर नगरपालिका समृद्ध र समुन्नत बनाउने लक्ष्यमा अघि बढिरहेको बताउनुभयो । नगरपालिकाले सम्पूर्ण नगरवासीलाई भ्रामक समाचारप्रति सचेत रहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।