राप्रपा रत्ननगरको अध्यक्षका लागि आज निर्वाचन : भट्टराई र लामाबीच प्रतिस्पर्धा

May 17, 2025 10:33 am

रत्ननगर, जेठ ३ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगर नगर कमिटीको अध्यक्ष पदका लागि आज शनिबार निर्वाचन हुँदैछ । बिहान ११ बजे देखी हुने निर्वाचनमा हरिशरण भट्टराई र सन्तोष लामाबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । निर्वाचनमा २३५ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् र मतदान सम्पन्न भएपछि आजै नतिजा घोषणा हुनेछ ।

सुरुमा पाँच जना उम्मेदवारले उमेदवारी दर्ता गराए पनि श्याम पोख्रेल, नारायण कार्की, र रामजी महतोले उमेदवारी फिर्ता लिएपछि भट्टराई र लामा अन्तिम प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। नगर कमिटीको अन्य पद भने निर्वाचित अध्यक्षले मनोनित गर्ने उमेदवार सन्तोष लामाले जानकारी दिए ।

हरिशरण भट्टराई राप्रपाका सक्रिय सदस्यका रूपमा परिचित छन्, जो स्थानीय स्तरमा संगठन विस्तार र कार्यकर्ता मनोबल बढाउन सक्रिय छन् भने सन्तोष लामा युवा पुस्तामाझ लोकप्रिय र गतिशील नेताका रूपमा चिनिन्छन्, जसले पार्टीको आधुनिकीकरण र युवा सहभागिता बढाउन जोड दिएका छन्। उनको उम्मेदवारीले नयाँ ऊर्जा र परिवर्तनको अपेक्षा गर्ने मतदातालाई आकर्षित गरेको छ ।

यो निर्वाचनले राप्रपा रत्ननगरको आगामी नेतृत्व र दिशालाई निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। निर्वाचन प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन पार्टीले आवश्यक तयारी गरेको बताइएको छ।