सौराहाचोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

May 14, 2025 9:54 am

रत्ननगर,३१ बैशाख ।

रत्ननगर वडा नम्बर १ सौराहाचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर वडा नम्बर १६ निवासी अन्दाजी २७ वर्षीय किशोर श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय टांडीका अनुसार भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको ट्रकले ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइते स्कुटर चालकलाई तत्काल रत्ननगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएकोमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।