रत्ननगर वडा नं. १५ मा ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’

May 13, 2025 2:49 pm

रत्ननगर, बैशाख ३० ।

रत्ननगर नगरपालिकाले सतप्रतिशत व्यक्तिगत घटना दर्ताको लक्ष्यसहित विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’लाई तीव्रता दिएको छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटनाहरूको दर्तालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सञ्चालित यो अभियान वडा नम्बर १४ बाट सुरु भई मंगलबार वडा नम्बर १५ को सितल टोलमा पुगेको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख राम प्रसाद बस्ताकोटीले सितल टोलका बासिन्दालाई घटना दर्ताको महत्त्व, प्रक्रिया र यसले प्रदान गर्ने कानुनी पहिचान तथा राज्यका सेवासुविधाबारे विस्तृत जानकारी दिएको बताए। ‘कानुनी पहिचान र राज्यबाट प्रवाह हुने सेवासुविधा प्राप्त गर्न घटना दर्ता अनिवार्य छ, तर सचेतना र पहुँचको अभावमा धेरैजना यो सुविधाबाट वञ्चित छन्,’ बस्ताकोटीले भने, ‘यो अभियानले विपन्न र सिमान्तकृत समुदायमा दर्ता प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन जोड दिनेछ।’ उनले सहभागी टोलबासीका समस्या पहिचान गरी समाधानका लागि आवश्यक विकल्पहरू प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा वडा नम्बर १४ का वडा सदस्य इम प्रसाद पन्तले व्यक्तिगत घटना भएको ३५ दिनभित्र अनिवार्य दर्ता गराउन आग्रह गरे। ‘घटना दर्ता नगर्दा नागरिकहरू राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ। छुटेका वडावासीलाई वडा कार्यालयमा आएर दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गर्छु,’ उनले भने। यो अभियानले स्थानीय समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

नगरपालिकाले यो अभियानलाई वडा नम्बर १४ र १५ पछि वडा नम्बर ५, ९ र ११ का विपन्न टोल र बस्तीहरूमा विस्तार गर्ने योजना बनाएको छ। जेठ २० गतेसम्म यी वडाहरूमा सम्बन्धित टोलविकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सहभागितामा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय नेतृत्व र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा वडा सदस्यहरू शिव प्रसाद तिवारी, रुकमाया परियार, वडा सचिव नवराज तिवारी लगायतको उपस्थिति रहेको थियो।