लमजुङमा रोटरीको ७९ लाखको खानेपानी आयोजना शिलान्यास

May 12, 2025 4:52 pm

रत्ननगर, बैशाख २९ ।

लमजुङमा रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ होनोलुलु सनसेटको संयुक्त पहलमा सोतीपासल खानेपानी परियोजनाको शिलान्यास गरिएको छ ।

जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ३ मा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न रोटरी क्लबले खानेपानी परियोजनाको शिलान्यास गरेको हो । ७९ लाख १८ हजार ६४ रुपैयाँको लागतमा अत्याधुनिक प्रविधिमा आधारित फिल्टरिङ प्रणालीमार्फत शुद्ध पिउने पानी उपलब्ध गराउने लक्ष्यसहित परियोजना शिलान्यास गरिएको हो । परियोजनाका लागि रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ होनोलुलु सनसेटले ५९ लाख १८ हजार ६४ रुपैयाँ, मध्यनेपाल नगरपालिकाले १० लाख रुपैयाँ र प्रदेश सरकारले १० लाख रुपैयाँ लगानी गरेका छन् ।

मध्यनेपाल नगरपालिका वडा नं. ३ मा खानेपानीको परीक्षणका क्रममा कोलिफर्म (हानिकारक जीवाणु) भेटिएपछि स्थानीय २६१ घरधुरी, विद्यालय र अस्पताललाई शुद्ध पिउने पानी उपलब्ध गराउन यो परियोजना सुरु गरिएको हो । यो क्षेत्र अत्यन्त दुर्गम भएकाले यहाँका बासिन्दाले लामो समयदेखि स्वच्छ खानेपानीको अभाव झेल्दै आएका थिए। रोटरी क्लब अफ रत्ननगरकी अध्यक्ष वीरन्जना सापकोटा घिमिरेले यो परियोजना स्थानीय समुदायको स्वास्थ्य र जीवनस्तर सुधारका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।

परियोजनामा अत्याधुनिक फिल्टरिङ प्रणाली जडान गरिनेछ, जसले पानीमा रहेका हानिकारक जीवाणु र अशुद्धतालाई हटाएर शुद्ध पिउने पानी उपलब्ध गराउनेछ। परियोजनालाई मूर्त रूप दिन इन्जिनियर गुनेश्वर र जनक पौडेलको प्राविधिक विशेषज्ञता र समन्वयले परियोजनालाई सफलतातर्फ डोर्‍याउन सहयोग पुगेको रोटरी क्लबले जनाएको छ ।

शिलान्यास समारोहमा बोल्दै रोटरी क्लब अफ रत्ननगरकी अध्यक्ष वीरन्जना सापकोटा घिमिरेले भनिन्, ‘हाम्रो लक्ष्य दुर्गम क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्नु हो। यो परियोजना हाम्रो मानवीय सेवाप्रतिको दृढ संकल्पको प्रतीक हो।’ उनले परियोजनालाई समयमै सम्पन्न गर्न स्थानीय समुदाय, नगरपालिका र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताइन् ।

यो परियोजनाले मध्यनेपाल नगरपालिका वडा नं. ३ का २६१ घरधुरी, स्थानीय विद्यालय र अस्पताललाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ। शुद्ध खानेपानीको अभावमा फैलिने पानीजन्य रोगहरू हैजा, टाइफाइड आदिको जोखिम न्यूनीकरण गर्न यो परियोजना प्रभावकारी हुने अपेक्षा गरिएको छ। परियोजनाले स्थानीय समुदायको स्वास्थ्य, शिक्षा र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।