बाजुराको डाँडीपाटामा रोटरी क्लबद्वारा ६५ लाखको खानेपानी योजना शिलान्यास

May 12, 2025 4:49 pm

रत्ननगर, बैशाख २९ ।
रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ होनोलूलू सनसेट, अमेरिकाको संयुक्त आयोजनामा बाजुराको डाँडीपाटामा ६५ लाख रुपैयाँ बराबरको खानेपानी तथा सिँचाइ योजनाको शिलान्यास गरिएको छ । सुदूरपश्चिमको अति दुर्गम क्षेत्र बाजुराको गौमुल गाउँपालिका, डाँडीपाटामा सोमबार योजनाको शिलान्यास गरिएको हो ।

ग्लोबल ग्रान्टअन्तर्गत सञ्चालित मानवीय सेवा परियोजनाले डाँडीपाटाका ३८ घरधुरी र स्थानीय विद्यालयका बालबालिकालाई शुद्ध खानेपानी उपलब्ध गराउने तथा कृषि उत्पादन वृद्धिका लागि सिँचाइ सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । परियोजनाको लागि स्थानीय बासिन्दा गजेन्द्र बहादुर रोकाया र विष्णु बहादुर रोकायाले आफ्नो जग्गा निःशुल्क प्रदान गरेका छन् । रोटरी क्लब अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले रोकाय परिवारले गरेको जग्गादानले परियोजनालाई तीव्र रुपमा अघि बढाउन र स्थानीय समुदायको सहभागिता उत्कृष्ट उदाहरण भएको बताइन् । सापकोटाले परियोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको जानकारी दिइन् ।

बाजुराको डाँडीपाटा क्षेत्र भौगोलिक रूपमा अति दुर्गम र आधारभूत सुविधाहरूबाट वञ्चित छ। यहाँका बासिन्दाले लामो समयदेखि शुद्ध खानेपानी र सिँचाइको अभावमा कठिनाइ झेल्दै आएका छन्। यो परियोजनाले स्थानीय समुदायलाई स्वच्छ खानेपानीको पहुँच प्रदान गर्नुका साथै सिँचाइ सुविधामार्फत कृषि उत्पादकत्व वृद्धि गर्ने अपेक्षा गरिएको छ । स्थानीय विद्यालयका बालबालिकाले शुद्ध पानी पाउँदा उनीहरूको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पर्ने क्लबले विश्वास व्यक्त गरेको छ ।

रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ होनोलूलू सनसेटले विश्वव्यापी रूपमा मानवीय सेवाका लागि ग्लोबल ग्रान्ट परियोजनाहरू सञ्चालन गर्दै आएका छन्। परियोजनाले रोटरीको “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेको छ । डाँडीपाटा खानेपानी तथा सिँचाइ योजनाले स्थानीय समुदायको आधारभूत आवश्यकता पूरा गर्ने र दिगो विकासको आधार तयार गर्ने विश्वास गरिएको छ । यस्तै,गौमुल गाउँपालिकाका अध्यक्षले दुर्गम क्षेत्रमा रोटरी क्लबले गरेको कार्यको प्रशंशा गर्दै परियोजनालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिलान्यास समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष, गौमुल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको विशेष उपस्थिति रहेको थियो।