माधवपुर गोल्डकप स्थगित : नयाँ तालिका चाँडै घोषणा हुने

May 11, 2025 9:02 pm

रत्ननगर,वैशाख २८ ।

रत्ननगर नगरपालिका वडा नं. १५ मा आयोजना हुने माधवपुर गोल्डकप फुटबल प्रतियोगिता विविध कारणले स्थगित भएको छ। आयोजक माधवपुर खेलकुद विकास समितिले जेठ दोस्रो साताभित्र प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। नयाँ खेल तालिका पत्रकार सम्मेलनमार्फत चाँडै सार्वजनिक गरिने जनाइएको छ।

माधवपुर खेलकुद मैदानमा वैशाख २९ गतेदेखि सुरु हुने तय भएको यो प्रतियोगिता अर्को सूचना नआएसम्म स्थगित भएको समितिका अध्यक्ष गणेश तामाङले बताए। उनले भने, “विविध कारणले मिति परिवर्तन गर्नुपरेको हो। जेठ दोस्रो साताभित्र गोल्डकप आयोजना गर्न छलफल र तयारी गरिरहेका छौं।”

रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा विजेता टोलीले २ लाख २२ हजार २२२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजकले स्थानीय समुदाय र खेलप्रेमीहरूसँगको सहकार्यमा प्रतियोगितालाई थप व्यवस्थित बनाउने योजना बनाएको छ। नयाँ मिति र थप जानकारीका लागि आयोजकले आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।