रत्ननगर वडा नं. १५ मा ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ हुँदै

May 11, 2025 5:54 pm

रत्ननगर, बैशाख २८ ।

रत्ननगर नगरपालिकाको सतप्रतिशत घटना दर्ता अभियान अन्तर्गत वडा नम्बर १५ को शितल टोल विकास संस्थाको विपन्न बस्तीमा ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ आयोजना हुने भएको छ। कार्यक्रम वैशाख ३० गते बिहान ७ बजेदेखि १० बजेसम्म शितल टोल विकास संस्थाको कार्यालय परिसरमा सञ्चालन हुनेछ ।

नगरपालिकाले यो अभियानमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटनाहरूको दर्ताको महत्त्वबारे स्थानीयलाई सचेत गराउने र दर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ। विशेषगरी विपन्न तथा सिमान्तकृत समुदायमा घटना दर्ता सेवालाई पहुँचयोग्य बनाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले घटना दर्ताको कानुनी र व्यावहारिक महत्त्व रहेछ छ । उनले भने, ‘घटना दर्ता कानुनी पहिचान स्थापित गर्न र राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यलगायतका सेवाहरू प्राप्त गर्न अनिवार्य छ। तर, सचेतनाको कमी र प्रक्रियागत जटिलताका कारण धेरैजना यो सुविधाबाट वञ्चित छन्। यो कार्यक्रमले टोल-टोलमा पुगेर सचेतना फैलाउने र दर्ता प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेको छ ।’

कार्यक्रमको सफलताका लागि नगरपालिकाले शितल टोल विकास संस्थासँग समन्वय गरी स्थानीय बासिन्दाको सक्रिय सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ। नगरपालिकाले सम्बन्धित टोलमा सूचना प्रचार-प्रसार गरी टोलवासीलाई सक्रिय सहभागिता गराउन टोल विकास संस्थालाई अनुरोध गरेको छ । स्थानीयलाई कार्यक्रममा उपस्थित भई घटना दर्तासम्बन्धी जानकारी लिन र आवश्यक परेमा दर्ता प्रक्रिया पूरा गर्न आह्वान समेत गरिएको छ ।

यसअघि वडा नम्बर १४ मा सम्पन्न भइसकेको छ सचेतना कार्यक्रम वडा नम्बर १५ मा सम्पन्न भएपछि नगरपालिकाले वडा नम्बर ५, ९ र ११ का विपन्न टोल र बस्तीमा पनि जेठ २० गतेभित्र यस्तै सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यी वडाहरूमा पनि सम्बन्धित टोल विकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सहभागितामा कार्यक्रम आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

यो अभियानले रत्ननगर नगरपालिकाभित्रका सबै व्यक्तिगत घटनाहरूको दर्ता सुनिश्चित गरी नागरिकलाई कानुनी पहिचान र राज्यका सेवाहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।