बैशाख २५ बाट रत्ननगरमा ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ हुँदै 

May 6, 2025 5:37 pm

रत्ननगर, बैशाख २३ ।

रत्ननगर नगरपालिकाले सतप्रतिशत घटना दर्ता अभियानलाई प्रभावकारी बनाउन विपन्न तथा सिमान्तकृत समुदाय लक्षित ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ बैशाख २५ गतेबाट सुरु गर्ने भएको छ। यो अभियानको शुभारम्भ वडा नम्बर १४ मा रहेको दक्षिणकाली, मिलिजुली र अभियान टोलविकास संस्थाहरूको विपन्न बस्तीबाट हुनेछ ।

कार्यक्रमको पहिलो दिन दक्षिणकाली मन्दिर नजिकैको प्रतिक्षालय, गैरीगाउँ बस्तीमा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। नगरपालिकाले यो कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ताको महत्त्वबारे स्थानीयलाई सचेत गराउने र दर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।

नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख राम प्रसाद बस्ताकोटीका अनुसार यो अभियानले विशेषगरी विपन्न र सिमान्तकृत समुदायमा घटना दर्ता सेवालाई पहुँचयोग्य बनाउन जोड दिएको छ। ‘कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि घटना दर्ता गर्न आवश्यक छ,तर सचेतना र पहुँचको अभावमा धेरैजना यो सुविधाबाट वञ्चित छन्,’ उनले भने। ‘यो कार्यक्रमले टोल-टोलमा पुगेर सचेतना फैलाउनेछ र दर्ता प्रक्रियालाई सरल बनाउनेछ।’

कार्यक्रमको लागि नगरपालिकाले सम्बन्धित बस्तीमा स्थानीयको सक्रिय सहभागिता सुनिश्चित गर्न समन्वय गरिदिन टोलविकास संस्थाहरूलाई अनुरोध गरेको छ। स्थानीय बासिन्दालाई कार्यक्रममा उपस्थित भई घटना दर्तासम्बन्धी जानकारी लिन र आवश्यक परेमा दर्ता प्रक्रिया पूरा गर्न आह्वान समेत गरिएको छ।

नगरपालिकाले वडा नम्बर १४ को लक्षित टोलमा कार्यक्रम सम्पन्न गरेपछि वडा नम्बर ५,९,११ र १५ का विपन्न टोल र बस्तीमा पनि जेठ २० गते भित्र सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यी वडाहरूमा पनि सम्बन्धित टोलविकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सहभागितामा कार्यक्रम गरिने जनाइएको छ ।