
रत्ननगर, बैशाख २१ ।
१९औं सौराहा फूड फेस्टिबलको आइतबार आयव्यय सार्वजनिक गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आयव्याय सार्वजनिक गरेको हो । सौराहा सहित चितवनको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले २०८० माघ २९ गते देखि फागुन ३ गते सम्म १९औं संस्करणको सौराहा फुड फेस्टिबल आयोजना गरिएको थियो ।
चितवनमा पर्यटक भित्र्याउन गरिएको फुड फेस्टिबलमा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा भएको छ । फेस्बिलमा ६८ लाख ३१ हजार ४४७ आम्दानी तथा ८३ लाख ८३ हजार १९२ रुपैया खर्च हुँदा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा भएको आर्थिक व्यवस्थापन समितिका संयोजक सुवासचन्द्र गौतमले जानकारी दिए । आयव्यय सार्वजनिक गर्दै उनले ६ लाख ५५ हजार ५२७ रुपैया अझै उठ्न बाँकी रहेको जानकारी दिए ।४५ वटा शीर्षकमा आम्दानी हुँदा रेवानले फेस्टिबल सम्पन्न गर्न १८ वटा मुख्य शीर्षकमा खर्च गरेको जनाएको छ । फेस्टिबलमा घाटा हुँदाहुँदै पनि रेवान सौराहाले मालपुर माविमा विद्यार्थीलाई योगाभ्यासको लागि प्लाष्टिको म्याटेस, व्याट्री र इन्भटर सहयोग गरेको छ ।
त्यसैगरी झुवानी माविलाई निकट भविश्यमै व्याट्री र इन्भटर प्रदान गरिने छ । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहामा हरेक बर्ष रेवानले गर्ने फुड फेस्टिबलमा नाफा र घाटा नहेरिने बताए । प्रणय दिवसको अबसर पारेर पर्यटक भित्र्याउन हामीले फेस्टिबल गर्दै आएको छौं उनले भने फेस्टिबलमा भएका गतिविधिले सौराहाको पर्यटनमा दीर्घकालिन प्रभाव पर्ने गरेको छ । उनले स्थानीय सरकार र व्यवसायी बीचको एकतामा सुरु गर्न लागिएको घुमौ सौराहालाई सफल पार्न रेवान प्रतिबद्ध भएर लाग्ने बताए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकास पाण्डेले सडकको दुराअबस्थाका कारण सौराहामा भारतीय पर्यटकको संख्यामा कमी आएको बताए । उनले चितवनमा पर्यटक भित्र्याउन घुमौ सौराहा अभियानलाई निरन्तरता दिन थालिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नं ६ का निर्वतमान अध्यक्ष बलराम दाहालले सौराहामा एउटै उद्देश्यले आयोजना गरिदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सव र सौराहा फुड फेस्टिबल फरक फरक बर्षमा गर्दा प्रभावकारी हुने विचार व्यक्त गरे । कार्यक्रममा रेवान सौराहाले क्षेत्रीय होटल संघ सौराहा, बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको ।
कार्यक्रममा कार्यपालिका सदस्य बविता चौधरी, वडा नं ७ का वडासदस्य सुर्यबहादुर तामाङ, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी, कुमरोज ध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवाल लगायतले मन्तव्य राखेका थिए । फेस्टिबलका कार्यक्रम संयोजक सम्भूप्रसाद मालीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम रेवान सौराहाका महासचिव नवीन नेपालले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा नं ७ का निर्वतमान वडाध्यक्ष राजन भट्ट, पर्यटन कार्यालय सौराहाका कार्यालय प्रमुख प्रेमप्रसाद ढकाल, रेवान महिला समुहकी उपाध्यक्ष शशीला चौधरी पञ्चतारा महिला साकोसकी अध्यक्ष निर्मला कँडेल लगायतको उपस्थिति रहेको थियो ।