
रत्ननगर, बैशाख ७ ।
रत्ननगर नगरपालिकाको ४० लाख अनुदानमा जनजागृति सहकारी संस्था लिमिटेड रत्ननगरले टाँडीमा सञ्चालन गरेको कृषि मार्ट विवादमा तानिएको छ। स्थानीय उत्पादन र दैनिक उपभोग्य वस्तु बिक्री गर्ने उद्देश्यले सञ्चालित मार्ट एकाएक फेन्सी पसलमा परिणत भएपछि नगरपालिकाले सटरमा ताला लगाएको छ ।
रत्ननगर-२, टाँडीमा रहेको उक्त मार्ट सहकारीले फेन्सी व्यवसायीलाई भाडामा दिएको गुनासो आएपछि शनिबार उपमेयर यादव प्रसाद पाठकको नेतृत्वमा नगरप्रहरीको टोलीले सटर बन्द गरेको हो। “नगरपालिकाले स्थानीय उत्पादन प्रवर्द्धनका लागि दिएको अनुदानको दुरुपयोग भएको पाइयो। यो गम्भीर विषय हो,” उपमेयर पाठकले भने। उनले अनुदानको उद्देश्यविपरीत कार्य भएको भन्दै सटरमा ताला लगाइएको बताउँदै अनुदान रकमको दुरुपयोग गर्ने छुट कसैलाई नभएको बताए।
सहकारीले पाँच महिनाअघि नगरपालिकाबाट अनुदान लिएर मार्ट सञ्चालनमा ल्याएको थियो। तर, मार्ट बन्द गरी फेन्सी पसल सञ्चालनमा ल्याइएपछि अनुदानको रकम दुरुपयोग भएको भन्दै स्थानीयले गुनासो गरेका थिए। सहकारीका कोषाध्यक्ष बिष्णु पौडेलले गल्ती भएको स्वीकार गरेका छन्। “मार्ट सञ्चालनको खर्च धान्न नसकेपछि सहकारीकै शेयर सदस्य फडिन्द्र अर्याललाई भाडामा दिएर फेन्सी पसल सञ्चालन गरिएको हो,” उनले भने। गल्ती भएको भन्दै नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरी सच्याउने मौका दिनुपर्ने उनको भनाई छ।
यता, सहकारीका अध्यक्ष माधव पौडेलले भने रातारात फेन्सी पसल सञ्चालनमा आएकोबारे आफूलाई जानकारी नभएको र यो विषयले आफू चकित भएको बताए। नगरपालिकाले अनुदान दुरुपयोगको विषयलाई गम्भीर रूपमा लिएको छ। यो घटनाले स्थानीय स्तरमा अनुदानको रकम दुरुपयोग र सहकारीको पारदर्शितामाथि प्रश्न उठाएको छ।