
लक्ष्मण सापकोटा/ रत्ननगर, बैशाख ५ ।
चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकालले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो निर्वाचन क्षेत्रका लागि १ अर्व १२ कराेड रुपैयाँको केन्द्रीय बजेट विनियोजनमा आफ्नो निर्णायक भूमिका रहेको दाबी गरेका छन्। ढकालले २०८१/०८२ मा चितवन-०१ मा केन्द्रिय बजेट करिब १ अर्व १२ करोड बराबर बिनियोजन भएको बताउँदै विभिन्न मन्त्रालयसँग समन्वय गरी वडा र नगरपालिकाका आयोजनाहरूका लागि यो बजेट सुनिश्चित गरेको बताए ।
यसै सन्दर्भमा उनले भरतपुरको पुलचोक-गोन्द्राङ सडक खण्डलाई लिएर नेताहरूबीचको जस लिने होडबाजीप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद ढकालले भने, “नेपाली नागरिकको करबाट बनेको बजेटलाई आफ्नो व्यक्तिगत सम्पत्तिको जसरी प्रस्तुत गर्नु गलत हो। मैले चितवन-१ मा ११२ करोड बजेट ल्याउन मन्त्रालय धाएँ, तर उद्घाटनमा गएर जस लिन खोजिन। विकास जनताको हो, नेताको निजी सम्पत्ति होइन।”
उनले राज्यको बजेटलाई जनहितमा सहि सदुपयोग गर्नु मेयरदेखि प्रधानमन्त्रीसम्म सबैको साझा दायित्व भएको उल्लेख गरे।पुलचोक-गोन्द्राङ सडक उद्घाटनका क्रममा प्रधानमन्त्री र भरतपुरकी मेयरबीचको जसको विवादले अनावश्यक भ्रम सिर्जना गरेको भन्दै ढकालले यस्ता प्रवृत्तिले विकासको गतिलाई अवरोध गर्ने बताए। उनले थपे, “हामीले जसको लागि होइन, चितवनको समग्र विकासका लागि काम गर्नुपर्छ। म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्छु, यस्तै सडक पूर्वी चितवनको लोथरसम्म विस्तार गरौँ। जस सबै तपाईंलाई दिन्छु।”
चितवन-१ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका वडाहरू समेटिएका छन्। ढकालले सचेत नागरिक समाजलाई भ्रमपूर्ण गतिविधि रोक्न र विकासमा साझा सहभागिताका लागि अपिल समेत गरेका छन्।