
रत्ननगर, बैशाख ३ ।
रत्ननगर वडा नं. २ निवासी पूर्वसांसद स्वर्गीय गुणराज पाठकको स्वर्गारोहण भएको ३१ वर्षपछि उनको सामाजिक योगदानको स्मरण गरिएको छ। गुणराज पाठक स्मृति समाजकल्याण प्रतिष्ठानले बुधबार रत्ननगरमा एक औपचारिक कार्यक्रम आयोजना गरी पाठकको योगदानबारे चर्चा-परिचर्चा गरेको हो।
संस्थाले तत्कालीन अवस्थामा पाठकसँगै राजनीति गरेका र उनले समाजका लागि गरेका कामलाई नजिकबाट नियालेका व्यक्तिहरूलाई एकै मञ्चमा ल्याएर उनको योगदानको स्मरण गरेको हो। १९८४ मा जन्मिएका पाठकले पूर्वी चितवनको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।कार्यक्रममा बोल्ने वक्ताहरूले पूर्वी चितवनको शिक्षा, स्वास्थ्य, बिजुली विस्तार र टाँडी बजारको विकासमा पाठकको नेतृत्वदायी भूमिका रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा तत्कालीन जिल्ला पञ्चायत सभापति टेकप्रसाद गुरुङले रत्ननगरसहित पूर्वी चितवनमा बिजुली विस्तारको नेतृत्वकर्ता पाठक भएको स्मरण गरे। उनले भने, “गुणराजको योगदान शब्दमा व्यक्त गर्न सकिँदैन। उनी एक कुशल राजनीतिज्ञ र सामाजिक व्यक्तित्व थिए। रत्ननगरले अहिलेसम्म उनको जस्तो नेतृत्व पाउन सकेको छैन।” उनले पाठक धनाढ्य परिवारमा जन्मिएर पनि साधारण नेताको रूपमा स्थापित भएको बताए।
पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पाठकले समाज विकासमा गरेको कामको कुनै पनि नेताले अहिलेसम्म अनुसरण गर्न नसकेको बताए। उनले भने, “गुणराजको योगदानलाई संस्थागत रूपमा स्मरण गर्नु महत्वपूर्ण छ। उनले गरेका कामलाई बाहिर ल्याउन सके युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।” उनले पाठकसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको र उनी असल सामाजिक कार्यकर्ता भएको स्मरण गरे।संघका सचिव चुडामणि ओलीले पाठकको जीवनी र सामाजिक योगदानबारे प्रकाश पारेका थिए।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, शहीद स्मृति बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख रामशरण पाठक, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, गुणराज पाठक नर्सिङ क्याम्पस वीरगञ्जका अध्यक्ष विजेन्द्र पाठक, श्रीकृष्ण प्रणामी केन्द्रीय सेवा समितिका सचिवालय सदस्य तिलकराज शर्मा पौडेल, नेपाल माविका पूर्वप्रधानाध्यापक गोपाल शर्मा आचार्य, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, सीतादेवी शर्मा लगायतले पाठकको योगदानबारे मन्तव्य राखेका थिए। कार्यक्रम संघका अध्यक्ष हरिशरण पाठकको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष नरेन्द्रराज पाठकले स्वागत मन्तव्य राखेका थिए।
यसैबीच, पूर्वसांसद स्वर्गीय गुणराज पाठकको स्मृतिमा मंगलबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ। गुणराज पाठक स्मृति समाजकल्याण प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा १ जना महिलासहित २४ जनाले रक्तदान गरेको पाठकका छोरा विजेन्द्र पाठकले जानकारी दिए। रक्तदान कार्यक्रममा नर्सिङ अध्ययनरत विद्यार्थीहरूले रक्तदाताहरूलाई रक्तदानसम्बन्धी सचेतना पनि प्रदान गरेका थिए।
किसानको छोराको रूपमा जन्मिएका पाठक उद्योगी र व्यवसायी हुँदै २०४१ सालमा सांसद बनेका थिए। दुई पटक साविक देबौली गाविसको प्रधानपञ्च रहेका पाठकको २०५१ वैशाख ३ गते निधन भएको थियो। उनले पूर्वी चितवनको शिक्षाको जग बसाल्न, बिजुली विस्तार गर्न र टाँडी बजारको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।