रत्ननगर, वैशाख २ ।
रत्ननगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष अनन्त अधिकारीले वडावासीको मन जित्ने काम गरेका छन्। केही दिनअघि सोही वडाका २७ वर्षीय प्यारालाइसिस पीडित सागर नेपाललाई ह्विलचेयर उपलब्ध गराउने बाचा गरेका वडाध्यक्षले मङ्गलबार उक्त बाचा पूरा गरेका छन् ।
प्यारालाइसिसका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका सागरले वडाध्यक्षसँग ह्विलचेयरका लागि अनुरोध गरेका थिए। वडाध्यक्ष अधिकारीले केही दिनअघि वडाको स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा सागरलाई ह्विलचेयर प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार, नगरपालिकाले एक थान ह्विलचेयर खरिद गरी मङ्गलबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
रत्ननगर नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख प्रह्लाद सापकोटा, वडाध्यक्ष अनन्त अधिकारी र स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलको उपस्थितिमा सागरलाई ह्विलचेयर प्रदान गरिएको थियो। यो सहयोगले सागरको दैनिक जीवनमा सहजता आउने अपेक्षा गरिएको छ। वडाध्यक्ष अधिकारीको यो कार्यले वडावासीमा सकारात्मक सन्देश प्रवाह भएको छ। सागरले ह्विलचेयर प्राप्त गरेसँगै नगरप्रमुख र वडाध्यक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्। यस्ता कार्यले जनप्रतिनिधिप्रतिको विश्वास थप बलियो हुने स्थानीयको भनाइ छ ।