चितवनका भिडियो सम्पादक पुजनलाई दुई अवार्ड

April 13, 2025 5:14 pm

रत्ननगर, चैत ३१ ।

चितवनका उदयीमान भिडियो सम्पादक पुजन लामिछानेले छोटो समयमै दुई प्रतिष्ठित राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जितेर चर्चा कमाएका छन्। उनले ‘रंग दर्पण म्युजिक अवार्ड २०८१’ र ‘५औं हिमालयन इन्टरनेसनल अवार्ड २०२५’ हात पार्दै नेपाली म्युजिक भिडियो सम्पादन क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्।

‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ मा पुजनले गीत ‘काले’ को भिडियो सम्पादनका लागि ‘उत्कृष्ट पप गीत भिडियो सम्पादक’ को उपाधि जिते। उक्त कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा र निर्देशक नारायण रायमाझी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। ‘काले’ गीतका रचनाकार चितवनका विष्णु शर्मा हुन्। गीतमा एलिना चौहानको स्वर, किशोर चौधरीको निर्देशन र सम्पूर्ण छायांकन चितवनमै गरिएको थियो।

यसअघि, २५ मार्च २०२५ मा थाइल्याण्डको बैंककमा आयोजित ‘५औं हिमालयन इन्टरनेसनल अवार्ड २०२५’ मा पनि लामिछानेले ‘श्रेष्ठ भिडियो सम्पादक’ को अवार्ड जितेका थिए। वुमेन्स इरा एन्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत प्रमुख अतिथि थिए। यो अवार्ड उनले गीत ‘दशैं आयो’ को भिडियो सम्पादनका लागि प्राप्त गरे। उक्त गीतमा गायक अमित रसाइलीको स्वर, कुमार सन्जाली मगरको संगीत संयोजन, किशोर चौधरीको निर्देशन र आशिष काफ्लेको छायांकन रहेको थियो। गीतको छायांकन चितवनको उपरदाङगढीमा भएको हो।

अवार्ड प्राप्त गरेपछि लामिछानेले भने, “पुरस्कार केवल ट्रफी मात्र होइन, यो मेहनतको फल हो। मैले ठूलो सपना कहिल्यै देखिनँ, साना–साना प्रयासबाटै सफलता प्राप्त हुँदै गएको महसुस गरेको छु।”पुजनको यो सफलताले चितवनको प्रतिभा र मेहनतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ। उनको सम्पादनमा देखिएको समर्पण र सिर्जनशीलता युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।