चितवन, चैत ३० ।
चितवनको पालिका स्तरीय १८औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रत्ननगर नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ। चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा रत्ननगरले १५ स्वर्ण, २० रजत र ३४ कांस्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको हो।
प्रतियोगितामा भरतपुर महानगरपालिकाले २६ स्वर्ण, २६ रजत र १९ कांस्य पदकसहित शीर्ष स्थान हासिल गर्दा माडी नगरपालिकाले ११ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्यो। रत्ननगरका खेलाडीहरूले एथलेटिक्स, भलिबल, कबड्डी लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
रत्ननगर अनलाईनसँग संक्षिप्त प्रतिक्रिया दिंदै रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले खेलाडीहरूको कडा मेहनत र प्रशिक्षणले यो नतिजा सम्भव भएको बताएका छन्। “हाम्रा खेलाडीहरूले अथक प्रयास गरे, र यो उपलब्धिले हामीलाई थप प्रोत्साहन मिलेको छ,” उनले भने। रत्ननगरको यो सफलताले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि थप सम्भावना देखाएको मेयर सापकोटाले बताए।
चैत २९ र ३० गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताले जिल्लाका युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।