स्काइराइडरद्वारा उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान

April 12, 2025 5:35 pm

रत्ननगर, चैत ३० ।

पूर्वी चितवनको रत्ननगरस्थित स्काइराइडर आवासीय माध्यमिक विद्यालयले शनिबार उत्कृष्ट शिक्षक, कर्मचारी र सेवा निवृत्त शिक्षक,कर्मचारीलाई सम्मान गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा वार्षिक परीक्षाफल प्रकाशनसँगै उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको प्राचार्य मदन पुरीले जानकारी दिए ।

कार्यक्रममा वर्ष शिक्षकको रूपमा लक्ष्मी रेग्मी सिलवाल, लक्ष्मी पौडेल र सरोज थपलियालाई सम्मान गरियो। यस्तै, वर्ष कर्मचारीको रूपमा सावित्रीदेवी सुवेदी तथा दीर्घसेवा सम्मानअन्तर्गत शिक्षक गीता दुवाडी, उर्मिला भट्टराई अर्याल र कर्मचारी विष्णुदेवी रेग्मीलाई सम्मानित गरिएको छ। दुवाडीलाई दोसल्ला, सम्मानपत्र र नगद १ लाख ७७ हजार, अर्याललाई दोसल्ला, सम्मानपत्र र २ लाख ८१ हजार तथा रेग्मीलाई १ लाख ४ हजार ४५० सहित सम्मान प्रदान गरिएको प्राचार्य पुरीले बताए।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, विद्यालयका निर्देशक दुर्गा पुरी र प्राचार्य मदन पुरीले संयुक्त रूपमा सम्मान तथा पुरस्कार वितरण गरे। शिक्षा अधिकारी वाग्लेले स्काइराइडरले नगरको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै यो विद्यालय शैक्षिक ब्रान्डको रूपमा स्थापित भएको बताए। उनले समयानुकूल शिक्षण सिकाइ र प्राविधिक शिक्षामा जोड दिएर यो उपलब्धि कायम राख्नुपर्ने सुझाए।

विद्यालयका निर्देशक पुरीले अभिभावकका गुनासोलाई सकारात्मक रूपमा ग्रहण गरी शैक्षिक सुधारमा जोड दिइएको बताए। उनले २१औँ शताब्दीका शैक्षिक चुनौतीलाई सामना गर्न समयानुकूल शिक्षण विधि र प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको उल्लेख गरे। शिक्षक–अभिभावक संघका अध्यक्ष सरोजराज लामिछानेले विद्यालयले अभिभावकको आर्थिक भार कम गर्न सहजीकरण गर्दै विद्यार्थीको शैक्षिक प्रगतिमा ध्यान दिएको बताए।

कार्यक्रममा सहायक प्राचार्य नारायणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। विद्यालयले चैत २७ गते जीवन उपयोगी शाखा, २८ गते प्ले ग्रुप, २९ गते नर्सरीदेखि कक्षा ५ सम्म र ३० गते कक्षा ६ देखि ९ सम्मको परीक्षाफल प्रकाशन गरेको छ। हाल स्काइराइडरमा २ हजार ७०० विद्यार्थी अध्ययनरत छन् भने २६६ शिक्षक–कर्मचारी कार्यरत छन्।