रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ का महिलाहरूलाई उद्यमी बनाउन अचार बनाउने तालिम दिइएको छ। वडा कार्यालयको बजेटबाट उद्यमशील महिला समूह वडा समितिले आयोजना गरेको तालिम बिहीबार सम्पन्न भएको छ ।
सीप विकासमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिममा सहभागीहरूले सिकेको सीपलाई अवसरको रूपमा लिएर आर्थिक उपार्जनको माध्यम बनाउने प्रतिबद्धता जनाएका छन् । समापन कार्यक्रममा वडाध्यक्ष आशिक तामाङसहितका जनप्रतिनिधिहरूले सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष तामाङले वडा कार्यालयले महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिममा लगानी गरेको बताउँदै यो लगानी खेर नजाने गरी उत्पादनशील क्षेत्रमा काम गर्न आग्रह गरे। “सीप सिकेर चुप लागेर बसियो भने राज्यको लगानी खेर जान्छ,” उनले भने, “यसलाई अवसरको रूपमा लिएर उत्पादन सुरु गर्नुहोस्।”तालिममा सरस्वती लामा र संगिता खनाल प्रशिक्षकको रूपमा रहेका थिए।
उद्यमशील महिला समूह वडा समितिकी अध्यक्ष कान्ता रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्यहरू लीलादेवी चापागाईं, ईश्वरीप्रसाद पन्त, शिव तिवारी, रुकमाया विक, मेलमिलाप समितिकी संयोजक कोपिला पौडेललगायतको उपस्थिति थियो। उद्यमशील महिला समूह वडा समितिकी कोषाध्यक्ष कोपिला अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा उद्यमशील महिला समूह रत्ननगरकी उपाध्यक्ष शान्ति ढकाल, सहभागीको तर्फबाट कल्पना काप्री र प्रशिक्षक सरस्वती लामाले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव रेनु ढकालले गरेकी थिइन्।