रत्ननगरमा २३ जना बटुकहरूको सामूहिक ब्रतबन्ध

April 7, 2025 6:28 pm

रत्ननगर, चैत २५ ।

पूर्वी चितवनको रत्ननगरमा २३ जना बटुकहरूको सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ। रत्ननगर वडा नं २ को शिवालय मन्दिर परिसरमा निर्मित मण्डपमा सामूहिक ब्रतबन्ध गरिएको हो। रत्ननगर जेसीजले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट अभिभावकहरूले आफ्ना छोराहरूको ब्रतबन्धका लागि रत्ननगर ल्याएका थिए ।

२३ जनालाई एउटै मण्डपमा राखी तिलनाथ खनालसहित तीन पण्डितले विधिपूर्वक ब्रतबन्ध गराए।रत्ननगर जेसीजका अध्यक्ष बाबुराम परियारले भने, “धर्म र संस्कृतिको संरक्षणसँगै आर्थिक अवस्था कमजोर भएका परिवारका छोराहरूको संस्कार सहज बनाउन यो कार्यक्रम गरेका हौं। हामीले यो आठौं संस्करण सोमबार सम्पन्न गरेका छौं, र हरेक वर्ष बटुकहरूको संख्या वृद्धि हुँदैछ।” दर्ता शुल्क ५,९९९ रुपैयाँमा पूजा सामग्री, जोगी भेषको वस्त्र र बटुकहरूका घरपरिवार तथा आफन्तहरू २५ जनासम्मका लागि भोजन व्यवस्था गरिएको संयोजक सचितराज जोशीले बताए।

उद्घाटन समारोहमा नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथि थिए। रत्ननगरका मेयर प्रलाद सापकोटाले यो कार्यक्रम अनुकरणीय भएको बताए। खनालले रत्ननगर जेसीजको समाजसेवालाई उदाहरणीय भने। अध्यक्ष परियारको सभापतित्वमा भएको कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, नेपाल जेसीजका उपाध्यक्ष सुवास गौतम, नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठ र रत्ननगर जेसीजका पूर्वअध्यक्ष सुन्दरलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।