स्पाउस क्लबद्वारा आधारभूत विद्यालय बेल्सीलाई एसी सहयोग

April 1, 2025 12:19 pm

रत्ननगर, चैत १९ । 

पूर्वी चितवनको रत्ननगर वडा नम्बर ३ मा रहेको आधारभूत विद्यालयलाई एसी सहयोग गरिएको छ । स्पाउस क्लब अफ आरसी रत्ननगरले विद्यालयलाई ३ थान एसी सहयोग गरेको हो ।

मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई ३ थान एसी, चापाकल,पानी तान्ने मोटर सहयोग र विद्यालयलाई रंग रोगन गरिएको क्लबकी अध्यक्ष राधिका तिमल्सिनाले जानकारी दिइन् । गर्मियाममा विद्यार्थीलाई पठनपाठनमा सहयोग पुऱ्याउने उद्देश्यले एसी सहयोग गरिएको उनले बताईन ।

रत्ननगर वडा नम्बर ३ र रोटरी क्लब अफ रत्ननगरको सहयोगमा गरिएको कार्यक्रममा क्लबले १ थान, वडाले १ थान र नगरपालिकाले १ थान एसी सहयोग गरेको ३ नम्बर वडाका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले क्लबले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । शिक्षा र स्वास्थ्य सेवाबाट कोहीपनी वंचित नहोस भन्ने उद्देश्यले नगरपालिकाले विद्यालयलाई सहयोग र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिरहेको जानकारी दिए ।

कार्यक्रममा रोटरीका एसिस्टेन्ट गर्भनर हरिप्रसाद सुबेदी,रोटरी क्लब अफ रत्ननगरकी अध्यक्ष विरन्जना घिमिरे, संस्थापक अध्यक्ष बिमला सुबेदी खनाल, विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतो, पूर्व प्रधानाध्यापक शालिग्राम ढकाल,स्पाउस क्लबका सदस्य, रोटरी क्लबका सदस्य लगायतको उपस्थिती रहेको थियो ।