
रत्ननगर । सौराहा सामुदायिक पुस्तकालयमा तीन महिने आधारभूत कम्प्युटर तथा लेखा तालिम सुरु भएको छ । पुरस्तकालयको आयोजना तथा रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित तालिमको रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँले उद्घाटन गरेका हुन् । सो अबसरमा उनले सुचना प्रविधिको विकाससंगै स्कुले जीवनबाटै कम्प्युटरको आधारभूत ज्ञान हासिल गर्न सके जीवन सहज हुने बताए । वडा नं ६ का वडाध्यक्ष किरण महतोले समाजको विकासमा योगदान गर्दै आएको सौराहा समुदायिक पुस्तकालयले बालबालिका लक्षित कम्प्युटर तालिम आयोजना गरेर रचनात्मक कामको सुरुवात गरेको बताए ।
कार्यपालिका सदस्य बबिता चौधरीले कलिलै दिमाखमा कम्प्युटर सम्बन्धी ज्ञान दिलाएर बालबालिका तथा किशोरीहरुलाई अध्यायनमा सहज बनाउन खोजिएको बताइन् । पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले ज्ञान आर्जन गर्ने भण्डारको रुपमा रहेको सौराहा सामुदायिक पुस्तकालयले रत्ननगर नगरपालिकासंग सहकार्य गरी आधारभूत कम्प्युटर तालिम सुरु गरेको बताए । ३० जना सहभागी तालिमको प्रशिक्षकमा मुक्ति रिजाल रहेका छन् । पुस्तकालयका अध्यक्ष विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं ७ का वडासदस्य कुलप्रसाद आचार्य, वडा नं ६ का वडा सदस्य तथा पुस्तकालयका सचिव वीरेन्द्र महतो, ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार लगायतले मन्तव्य राखेका थिए । पुस्तकालयकी व्यवस्थापक लक्ष्मी विडारीले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं ६ का वडा सदस्य गोपिकृष्ण विडारी, अधिबक्त केएन सिलवाल लगायतको उपस्थिति रहेको थियो ।