माडीमा वन्यजन्तु राहत निर्देशिका माथि अन्तरक्रिया, पीडितमैत्री नभएको स्थानीयको गुनासो

March 29, 2025 7:53 pm

१६ चैत, माडी । चितवनको माडीमा आज वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० माथि अन्तरक्रिया गरिएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना, जिल्ला गैर सरकारी संस्था महासंघ चितवनको समन्वय, साप नेपाल र डेक नेपालको सहयोगमा गरिएको उक्त कार्यक्रममा वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरुले नयाँ राहत निर्देशिका पीडितमैत्री नभएको औल्याएका छन् ।

स्थानीय लीलाधर भण्डारीले राहत लिने प्रक्रिया अत्यन्तै झण्झटिलो रहेको भन्दै विकल्प खोज्न आग्रह गरे । उनले मध्यवर्ती क्षेत्रका बासिन्दा र बालीनालीको सरकारले बीमा गरिदिने र त्यहाबाट रकम पाउने व्यवस्था गर्नुपर्ने बताए । नयाँ निर्देशिकाले पनि मानब वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न नसक्ने भन्दै उनले निर्देशिका कार्यान्वयनको लागि परिमार्जन गर्न आवश्यक रहेको बताए । अर्का स्थानीय झनक प्रसाद अधिकारीले चारैतिर कंक्रिट पर्खाल निर्माण गरी वन्यजन्तु बस्ती छिर्न नदिने हो भन्ने मात्र समस्या सामधान हुने तर्क गरे । संरक्षणका नाममा करोडौं रुपैया खर्च गरियो उनले भने समस्या जहाको त्यही छ ।

वडा नं ७ का वडासदस्य ढाका मोहन तिमिल्सिनाले निकुञ्ज ऐन संशोधन नगरे सम्म नयाँ राहत निर्देशिकाको कुनै अर्थ नहुने बताए । निकुञ्जको पदचापमा माडीबासी परिरहेको भन्दै उनले निकुञ्ज ऐन संसोधन गर्नुपर्ने बताए । निर्देशिकाबारे सहजीकरण गर्दै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले आवश्यक विषयहरु परिमार्जन गरी निर्देशिका जारी भएको बताए । वन्यजन्तु बस्तीमा प्रवेश गरेर मानबीय तथा अन्य क्षति गरे राहत पाउने, टिकट काटेर निकुञ्ज प्रवेश गरेका मान्छेहरुलाई आक्रमण गरे राहत पाउने, पोखरीका माछा र कुखुरामा क्षति भए राहत पाउने गरी विषयहरु थप गरिएको अध्यक्ष गायकले जानकारी दिए ।

कार्यक्रममा चितवन निकुञ्जका संरक्षण अधिकृत रविन चौधरीले जैविक विविधता तथा वन्यजन्तु संरक्षणमा भएका प्रयासहरुको विषयमा सहजीकरण गर्दै संरक्षणमा देखिएको चुनौतिहरुको विषयमा जानकारी गराएका थिए । सो अबसरमा उनले असहाय वन्यजन्तुको स्याहारसुसार, बासस्थान अतिक्रमण, मानब वन्यजन्तु बीचको द्वन्द्व, मिचाह प्रजाती चुनौतिको विषय रहेको बताए ।

साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने साप नेपालकी अध्यक्ष गीता भट्टराईले वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाको अबस्था र राज्यले गर्नुपर्ने दायित्व बोध गराउनका कार्यक्रम कोशेढुंगा हुने बताईन् । जिल्ला समन्वय समितिका सदस्य बाबुराम सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा सदस्य नारायणप्रसाद अधिकारी, जिल्ला गैरसरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरे दवाडी लगायतले मन्तव्य राखेकी थिईन् । साप नेपालकी अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित क्षेत्रका ५० जनाको सहभागिता रहेको थियो ।