
रत्ननगर । चितवनको रत्ननगरका पुजन लामिछानेले भिडियो सम्पादन विधामा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएका छन् । वुमेन्स इरा एण्ड मिडिया ग्रुपले उनलाई सम्पादन विधामा उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरेको हो । सञ्चारकर्मी समेत रहेका लामिछाने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको लागि मनोनयनमा परेका थिए । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार सम्पन्न भब्य समारोहका बीच लामिछानेलाई अवार्ड प्रदान गरिएको हो ।
लामिछाने ‘दसैँ आयो’ गीतबाट भिडियो सम्पादनको उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । ‘भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान ः हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौँ संस्करणको अवार्डमा विभिन्न विधालाई समावेश गरिएको थियो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको जनाइएको छ ।
लामिछाने चितवनमा रहेर भिडियो सम्पादनमात्रै नभई मोडलिङ र अभिनयमा पनि उत्तिकै सक्रिय छन् । उनको अभिनय रहेको फिल्म ‘होस्टल ३’ पनि यतिखेर प्रदर्शन भइरहेको छ । अवार्ड प्राप्तीले उत्साहित भएको छु उनले भने यो मेरो जीवनकै सबै भन्दा ठुलो र महत्वपूर्ण क्षण हो । लामिछानेले अवार्ड हात परेपछि कार्यक्षेत्रमा काम गर्ने हौसला प्रदान भएको भन्दै अझै राम्रो गर्न निरन्तर प्रयास गर्ने बताए ।