रत्ननगरका १६ वटै वडामा गणतन्त्रका पक्षमा एमालेको सचेतना अभियान

March 25, 2025 11:04 am

चितवन, चैत १२ –

रत्ननगरका १६ वटै वडामा एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न सचेतना अभियान सञ्चालन गरेको छ ।

नेकपा (एमाले) ले देशभरका सबै वडामा एकसाथ लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान चलाउने घोषणा गरेको थियो । सोही घोषणा अनुरुप रत्ननगरका सबै वडाहरुमा सोमबार कार्यक्रम सम्पन्न गरिएको एमाले रत्ननगरका अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिएको हो । ‘प्रतिगामी चलखेललाई परास्त गरौं, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने नाराका साथ वडामा अभियान चलाइएको अध्यक्ष अर्यालले बताए ।

एमालेले चैत महिनाभर विभिन्न कार्यक्रम गरी देशभर अभियान चलाउने घोषणा गरेको छ । प्रतिगामीविरुद्ध जनपरिचालन एवम् जनसचेतना कार्यक्रम मोटरसाइकल र्यालीका साथै सबै जिल्लामा जागरणसभा चैतसम्ममा आयोजना गर्दै छ ।

पार्टी केन्द्रको यही चैत ४ गतेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति गम्भीर रुपमा छलफल गरी पार्टी संविधान र यसले संस्थागत गरेको लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ ।

एमालेले अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिएको छ । पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरणका बारेमा एमालेले जनतालाई जानकारी गराइरहेको छ ।