रत्ननगर जेसीजले सामुहिक ब्रतबन्ध गर्ने

March 24, 2025 6:46 pm

रत्ननगर, चैत ११ ।

पूर्वी चितवनको रत्ननगरमा चैत २५ गते सामुहिक ब्रतबन्ध कार्यक्रम गरिने भएको छ । रत्ननगर जेसीज र रत्ननगर जुनियर जेसीजको आयोजनामा रत्ननगर २ मा रहेको शिवालय मन्दिरमा बटुकहरुको सामुहिक ब्रतबन्ध कार्यक्रम गर्न लागिएको हो ।

जेसीजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक ब्रतबन्ध गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । धर्मसंस्कृतिको संरक्षणसंगै आर्थिक अबस्था कमजोर भएका परिवारका छोराहरुको सहज तरिकाले कर्म पुरा गर्ने उद्देश्यले सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सचितराज जोशीले बताए । उनले सोही दिन व्रतबन्ध संगै मितेरी साइनो( मित लगाउने) कार्यक्रम पनि राखिएको जानकारी दिए ।

मन्दिर परिसरमा विधिपूर्वक बटुकहरुको सामुहिक ब्रतबन्ध गरिने संयोजक जोशीले जानकारी दिए । सामुहिक ब्रतबन्धको लागि दर्ता शुल्क ५ हजार ९९९ निर्धारण गरिएको छ । नाम दर्ताको लागि अन्तिम मिति चैत २३ गतेसम्मलाई तोकिएको छ । आर्थिक अबस्था कमजोर भएकाहरुलाई उनीहरुको अबस्था हेरी रकम घटाउन तथा निःशुल्क समेत गर्न सकिने रत्ननगर जेसीजका अध्यक्ष बाबुराम परियारले जानकारी दिए ।

बटुकलाई ब्रतबन्धको लागि चाहिने पुजा सामाग्री, ब्रतबन्ध गर्दा चाहिने जोगी भेषको बस्त्र, बटुकको घर परिवार र आफन्तहरु २५ जना सम्मलाई भोजन प्रसादको व्यवस्था गरिएको अध्यक्ष परियारले बताए ।

सामुहिक ब्रतबन्धको दिन नजिकिदै गर्दा सोमबार सम्म १६ जनाको परिवारले नाम दर्ता गराइसकेका छन् । पत्रकार सम्मेलनमा रत्ननगर जेसीजका पुर्व अध्यक्ष नरहरी पूरी, निर्देशक सुबास पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।