रत्ननगर, फागुन २० ।
रत्ननगर मेयर कप टी–२० क्रिकेटको उपाधि भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयले जितेको छ । रत्ननगरको टिकौली खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा रत्ननगरको एकता शिशु निकेतनलाई १०८ रनले हराउँदै नारायणीले उपाधि जितेको हो ।इर्ष्टन क्रिकेट एकेडेमी रत्ननगर ३ को आयोजना र रत्ननगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा उपाधि जितेसँगै नारायणीले १ लाख नगद प्राप्त गरेको छ भने उपविजेता एकता शिशु निकेतनले ५० हजार पाएको छ ।
प्रतियोगितामा पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरको खेलमा १ विकेट गुमाएर २०७ रन बनाएको थियो । ठूलो योगफल बनाउने क्रममा नारायणीका सविन खरेलले ७० बल खेलेर १३ चौका र १ छक्काको मद्दतमा अविजित १०१ रन र राहुल कुशहवाले ५१ रन जोडेका थिए । नारायणीले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा एकता शिशु निकेतनले १० विकेट गुमाएर ९९ रन मात्र जोड्न सक्यो । निकेतनका लागि अविशेक यादवले २४ र निकशोन पराजुलीले २१ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङतर्फ नारायणीका विकी शाहले ३ विकेट, उमेश महतो र राहुल कुशहवाले समान २/२ विकेट लिए ।
प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका नारायणीका राहुल कुशहवा म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए । कुशहवाले १० विकेट र १२१ रन जोडेका थिए । प्रतियोगितामा वेष्ट ब्याट्सम्यान एकता शिशु निकेतनका अभिषेक यादव घोषित भए । यादवले १६३ रन जोडेका थिए । फाइनल खेलमा अविजित १०१ रन जोडेका नारायणीका सविन खरेलले बेष्ट ब्याट्सम्यानको उपाधि प्राप्त गरे ।
प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई औपचारीक कार्यक्रम मार्फत नगद,मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका खेलकुद समितिका संयोजक एवंम वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष किरण महतो, वडा नम्बर ७ का वडाध्यक्ष सजना महतो, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेल लगायतले खेलाडीलाई मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।
फागुन १५ गतेदेखी सुरु भएको खेलमा ६ टिमको सहभागिता रहेको नगर खेलकुद समितिका सह संयोजक एवंम चितवन क्रिकेट संघका पूर्वी चितवन संयोजक सौगात भुजेलले जानकारी दिए । कार्यक्रममा नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले, चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष उमेश पिया लगायतको उपस्थिती रहेको थियो ।
