
रत्ननगर, फागुन १ ।
ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समितिका अध्यक्ष रमेश नेपालले बुधबार भरतपुर अस्पताल पुगेर बिरामीको लागि रक्तदान गरे । नेपालले बुधबार सहित अहिले सम्म ४६ औं पटक रक्तदान गरेका हुन् ।
उनले ४६ औं पटक रगत दान गर्दा अहिलेसम्म कहिले पनि आफूलाई कमजोरी महसुस नगरेको बताउँछन्। भन्छन्, ‘मलाई अहिलेसम्म रक्तदान गर्दा कहिले कमजोर भएको जस्तो लागेन, रक्तदान गरेको बेलामा झन स्वस्थ्य भएको अनुभव गर्छु । उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको उनले बताएका छन्।
‘मैले दिएको रगतले धेरैको ज्यान बँचेको छ। उहाँहरूले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन्। यो नै सबैभन्दा बढी खुसीको क्षण लाग्छ मलाई!’, उनले भने, ‘रातको समयमा पनि आवश्यक परेको खण्डमा अस्पताल पुगेर रगत दिने गरेको छु। रक्तदान गर्नु आफ्नै लागि समेत फाइदा हुँदोरहेछ। अहिलेसम्म मलाई कुनै रोग छैन।’
‘चेतनाको अभावले अधिकांश मानिस अझै रक्तदान गर्न मान्दैनन्। रक्तदान गर्दा आफ्नो लागि समेत फाइदा हुन्छ’, उनले भने, ‘आगामी दिनमा ठाउँ ठाउँमा पुगेर रक्तदान सम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौं। यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लावासीले मुक्ति पाउँछन्।’
प्रत्येक तीन महिनामा रक्तदान गर्नु राम्रो कुरा हो, रगत कहिले शरीरमा सकिँदैन, यो त उत्पादन भइरहने चिज हो।’ विशेष अवस्थामा अहिले जो कोहीलाई समस्या परेमा रक्तदान गर्ने उनले बताए ।