रत्ननगरमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा विमल र संगमको जोडी प्रथम

January 25, 2025 5:26 pm

रत्ननगर, माघ १२।

रत्ननगर वडा नम्बर ८ को चित्रसारीमा सम्पन्न जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगितामा विमल थापामगर र संगम सापकोटाको जोडी प्रथम भएको छ । चित्रसेन क्लबको आयोजनामा दुई दिन सम्म चलेको प्रतियोगितामा थापामगर र सापकोटाको जोडी प्रथम भएको हो । दोस्रो संस्करणको प्रतियोगितामा राजकुमार बगाले र संवत बस्नेतको टोली द्वितिय, र तृतिय हुने दुई टोलीमा उमेश चौधरी र नरेश अर्यालको जोडी तथा बसन्त कुँवर र विकाश मानन्धरको जोडी रहेको क्लबका अध्यक्ष हरिशरण भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद २० हजार , द्वितिय हुने टोलीलाई १६ हजार र तृतिय हुने टोली नगद १२ हजार मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको हो । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका बसन्त कुँवर लाई उत्कृष्ठ खेलाडी घोषित गरिएको थियो ।

वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष किरण लामा, रत्ननगरका खेलकुद समिति सदस्य राजु लामा , सुजन क्षेत्री, खेलकुद विकास समितिका सदस्य केबल न्यौपाने, राप्रकाका क्षेत्रिय अध्यक्ष तथा समाजसेवी बलराम खनाल, चित्रसेन सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ ,वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष शंकर लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका सदस्य कृष्ण प्रसाद पौडेलले संचालन गरेका थिए ।