चितवनमा जिओ कृषि सेवाको शुभारम्भ

January 9, 2025 7:14 pm

रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपालले सामाजिक उद्यमी महिला सहकारी र त्यसमा आबद्ध किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणको लागि जिओ कृषि सेवा शुभारम्भ गरेको छ ।

सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपाल, हेफर इन्टरनेशनल नेपाल र पाथवे टेक्नोलोजी सर्भिसेस प्रा.लि.बीचको त्रिपक्षीय सहकार्यमा मोवाइल एप्समा जिओ कृषि सेवा सञ्चालनमा ल्याएको हो । आज भरतपुरमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपाने, हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रवन्ध निर्देशक कृष्ण कट्टेल र प्रा.लि.का प्राविधिक निर्देशक विकास डंगोलले सयुक्त रुपमा जिओ कृषि सेवाको उद्घाटन गरेका थिए । तीन बर्षमा देशभरका ३ सय सामाजिक उद्यमी महिला सहकारीहरुले प्रयोगमा ल्याउने गरी विहीबार जिओ कृषि सेवा उद्घाटन गरिएको हो ।

पहिलो बर्ष ३० वटा, दोस्रो बर्षमा १५० वटा र तेस्रो बर्षमा १२० वटा सहकारीमा उक्त एप प्रयोगमा ल्याउने तयारीका साथ काम सुरु गरिएको हेफर इन्टरनेशनल नेपालका इनोभेसन व्यवस्थापक तारा पन्थीले जानकारी दिए । जिओ कृषिलाई परिमार्जन गरी जिओ कृषि सेवा सञ्चालनमा ल्याइएको उनको भनाई छ । उक्त तीन वटा संस्थाको लगानीमा सञ्चालनमा ल्याइएको सो एप्सबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा सहकारी, २५ प्रतिशत सेवा नेपाल र २५ प्रतिशत सेवा प्रदायक संस्थाले पाउने गरी सम्झौता गरिएको पन्थीले जानकारी दिए ।

उक्त मोवाइल एप्समा किसानका लागि जिओ कृषि फार्म, सहजकर्ताको लागि जिओ कृषि इएक्सट, सेवा नेपाल र सहकारीका लागि जिओ कृषि इन्टरप्राइजेज र सहकारी व्यवसायको लापग जिओ कृषि एग्रोभेट गरी चारवटा फिचर राखिएको उनले जानकारी दिए । कृषिलाई प्रविधिमैत्री बनाउदै कृषिजन्यबस्तुको बजारीकरणको लागि किसानसम्म सुचना पुर्याउने उद्देश्यले जिओ कृषि सेवा सञ्चालनमा ल्याइएको हेफर क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेलले बताए । जिओ कृषि सेवा अनलाइन व्यापार जस्तै हो उनले भने यसले सजिलै किसानलाई बजारको अबस्थाको जानकारी दिनेछ । सेवा नेपालमा आबद्ध सामाजिक उद्यमी महिला सहकारी र ति सहकारीमा आबद्ध ४ लाख किसानहरुलाई सेवा प्रदान गर्ने गरी जिओ कृषि सेवा शुभारम्भ गरिएको हो ।

सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सहकारीले उत्पादन गरेका बस्तुहरुलाई डिजिटल प्लेटफम मार्फत बजारीकरणको लागि प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै कृषिलाई प्रविधिमैत्री बनाउने बताइन् । बजारीकरणको समस्या सामधान गर्न डिजिटल प्रविधिको सुरुवात गरिएको भन्दै उनले प्रविधिलाई किसानको माझमा लैजान सहकारीको महत्वपूर्ण भूमिका रहने बताइन् । सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेले सामाजिक उद्यमी महिला सहकारीको विकासको लागि सेवा नेपालको जन्म भएको बताइन् ।

आर्थिक अबस्था कमजोर भएको महिलाहरुलाई सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध गराउने र उनीहरुलाई उत्पादनशिल कार्यमा अग्रसर गराउने सेवा नेपालको उद्देश्य रहेको उनको भनाई छ । सेवा नेपालमा आबद्ध सहकारी तथा तिनमा आबद्ध किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणको लागि प्रविधिको सुरुवात गरिएको बताइन् । सेवा नेपालकी सचिव शैलजा पौडेल घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा सेवा नेपालका पदाधिकारी तथा सदस्यहरु, हेफरमा विभिन्न पदमा कार्यरत कर्मचारीहरु, सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।