सौजन्य बचत सहकारी रत्ननगरको बार्षिक साधारण सभा सम्पन्न 

January 5, 2025 5:13 pm

रत्ननगर, पुष  २१ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको श्री सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा आइतबार गरिएको छ ।साधारण सभाको कालिका नगर पालिकाका मेयर तथा सहकारीका संस्थापक अध्यक्ष विनोद रेग्मीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

साधारण सभामा चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष धर्मध्वज लम्साले आर्थिक कारोबारसंगै शेयर सदस्यको आर्थिक विकास, सामाजिक उत्तरदायित्व बहन र संस्थागत विकासलाई ध्यानमा राखेर योजना बनाईने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष लम्सालले प्रगति प्रतिवेदन, संस्थाकी कोषाध्यक्ष सविता आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सो सहकारीको शेयर पुँजी रु ९९ लाख ७७ हजार , जगेडा कोषमा रु ७ लाख ९९ हजार ५ सय १८, बचत तथा निक्षेत दायित्व  रु २ करोड ४९ लाख ५९ हजार ९ सय ६९ रहेको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिईन् । उनले यो बर्ष संस्थाको २ लाख ३४ हजार ३ सय ४ रुपैंया शुद्ध नोक्सान भएको जानकारी दिईन् ।

सो अबसरमा प्रमुख अतिथि मेयर रेग्मीले सहकारीको विधि, नियम, कानुन अंगालेर कार्य गर्न आग्रह गरेका छन् । उनले आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको पहिचान गरी लगानी गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक केशब आचार्य, पूर्व लेखा समिति संयोजक बाबुराम गौतम लगायतको उपस्थिती रहेको थियो ।  संस्थाकी सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष महादेव प्रसाद हुमागाईले स्वागत मन्तव्य राखेका थिए ।