चित्रसेन सामुदायिक वनको २३औं बार्षिक साधारण सभा सम्पन्न

December 8, 2024 5:21 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ८ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक वनको २३औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा सामुदायिक वनकी कोषाध्यक्ष हिराकुमारी पाण्डेले आर्थिक बर्ष २०८०÷०८१ को आयव्याय तथा लेखा समिति संयोजक सन्तोष थपलियाले आर्थिक बर्ष २०८१÷०८२ को लागि अनुमानित बजेट प्रस्तुत गरेका थिए । सोही अबसरमा वडा नं ८ का वडासदस्य तथा सामुदायिक वनका संस्थापक सहसचिव केदार कुमार श्रेष्ठ सहित निर्वतमान कार्यसमितिलाई सम्मान गरिएको थियो ।

साधारण सभामा बोल्ने जनप्रतिनिधि तथा संरक्षणकर्मीहरुले पर्यापर्यटन मार्फत सामुदायिक वनले गरेको आम्दानीको उचित सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले सामुदायिक वनका उपभोक्ताको जीविकोपार्जन, पर्यटन विकास र संरक्षणमा लगानी गर्न सामुदायिक वनलाई आग्रह समेत गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले चित्रसेन मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटन सञ्चालनबाट मनग्य आम्दानी गरेको भन्दै उपभोक्ताको आवश्यकता पहिचान गरी लगानी गर्नुपर्ने बताए । उनले सौराहाको पर्यटनलाई केन्द्रमा राखेर निकटका सामुदायिक वनमा जीप सफारी सञ्चालनको लागि स्थानीय सरकारले सार्थक पहल गर्ने बताए ।

सामुदायिक वनलाई सौराहाको पर्यटनसंग जोड्ने र पर्यटन मार्फत समुदायको जीवन स्तर उकास्ने नीति स्थानीय सरकारले लिएको उनको भनाई छ । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले पर्यापर्यटनको विकासका लागि बाघमारा र चित्रसेन वनको सहकार्य उदाहरणीय रहेको बताए । चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठले वन र वन्यजन्तुको संरक्षणलाई प्राथमिकता दिँदै पर्यटन विकास, उपभोक्ताको आयआर्जन, सीप विकास र सामुदायिक विकासको कामलाई अगाडि बढाएको बताए ।

कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, निर्वतमान अध्यक्ष विनोद बस्नेत, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सामुदायिक वनका संस्थापक उपाध्यक्ष एकनारायण पौडेल, निर्वतमान कोषाध्यक्ष नवलकिशोर मर्दनीया, मावि चित्रसारीका प्रधानाध्यापक शंकर घिमिरे लगायतले मन्तव्य राखेका थिए । सामुदायिक वनका सचिव श्रीकान्त पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गीतादेवी आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

आर्थिक बर्ष २०८०÷०८१ मा पर्यापर्यटनबाटै २ करोड ४० लाख ८५ हजार रुपैया आम्दानी गरेको सो सो सामुदायिक वनले विभिन्न ११९ वटा शीर्षकमा १ करोड ६८ लाख ३९ हजार खर्च भएको वनका कार्यालय सचिव कृष्ण आचार्यले जानकारी दिए ।