रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ। साेमबार भएकाे पहिलाे क्वाटर फाइनल खेलमा कालिका नगरपालिकालाई १-० गाेल अन्तरले पराजित गरि राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगितामा राप्तीका निसान तामाङ म्यान अफ दी म्याच घाेषित भएका छन् । भाेली मंगलबार भरतपुर महानगर र हेटाैडा उपमहानगर बीच दाेस्राे क्वाटर फाइनल खेल हुनेछ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, कमवानपुरका दुई र नवलपरासीकाे एउटा पालिका १० वटा टिमले सहभागिता जनाएकाे खेलकुल विकास समितिका संयोजक चौधरीले जानकारी दिए । खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।