तेश्रो अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीता मङ्सिर ६ गते बाट हुने

November 19, 2024 4:35 pm

४ मङ्सिर, रत्ननगर । रत्ननगरमा हरेक बर्ष आयोजना हुने अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीताको तेश्रो संस्करण यही मङ्सिर ६ गते बाट १५ गते सम्म हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रत्ननगर नगरपालिका वडा नं २ स्थित नेपाल नमुना माध्यामिक विद्यालयको प्राङ्गणमा खेल संचालन हुनेछ ।

युवाहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउदै फुटबल खेल क्षेत्रको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदानका लागी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विगतमा चितवन जिल्ला भित्रका पालिकाहरुको मात्र सहभागिता रहने गरेको यस प्रतियोगतामा यस पटक थप परिस्कृत र परिमार्जन सहित हेटौडा उपमहानगरपालिका, मनहरी गाँउपालिका र गैडाकोट नगरपालिकालाई समेत समेत सहभागी गराईने आयोजकको भनाई छ ।

रत्ननगर नगरपालिकाले आयोजना गर्ने तेश्रो अन्तर पालिका मेयर कप फुटबल प्रतियोगीताले युवाहरुको खेल प्रतिभाको मूल्याङ्कन मात्र गर्दैन, फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन साथै ग्रासरुटको फुटबलको विकास पनि गर्ने लक्ष्य राखिएको छ । यो प्रतियोगितालाई व्यापक उत्साहका साथ संचालन गर्ने तयारी नगरपालिकाको रहेको समेत आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

तेश्रो अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीतामा १० टिमको सहभागिता रहने छ भने कुल १० खेल संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ११ हजार १ सय ११ रुपैया, दोस्रो हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपैया, प्लेयर अफ द म्याचले २ हजार ५ सय रुपैया र प्लेयर अफ द टुर्नामेन्टले १० हजार ५ सय रुपैया साथमा पदक, ट्रफि र प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकको भनाई छ । खेल आगामी मङ्सिर ६ गते दिउसो १ बजे उद्घाटन हुनेछ ।