नारायणगढ–बुटवल सडक छिटो निर्माण गर्न दबाब, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईने

November 13, 2024 6:55 pm

नवलपरासी : नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ वटा जिल्लाका स्थानीय तहले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् । जिल्ला समन्वय समिति नवलपरासीको संयोजनमा मंगलबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको छलफलमा ठेकेदारले काम सुरू नगरेकाले प्रधानमन्त्रीसहित संघीय सरकारका निकायको ध्यानाकर्षण गराउँदै समयमै काम सक्ने वातावरण निर्माण गर्न दबाब दिने निर्णय गरेका छन् ।

जिसस नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले ठेकेदारले आर्थिक अभावका कारण काम गर्न ढिलाइ गरेको जानकारी गराएका थिए ।काममा ढिलाइ गरेको भन्दै नोटिस टु करेक्ट पठाएर परामर्शदाता कम्पनीले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनलाई सचेत बनाइसकेको उनले बताए । ठेकेदारलाई ठेक्का तोड्नुअगाडिको प्रक्रियागतरुपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरुप एनटिसी जारी भइसकेको भन्दै आयोजना प्रमुख मिश्रले उक्त समयावधिभित्र तोकेअनुरुप काम नभए ठेक्का तोड्नुपर्ने बताए ।

दुईवटा लक्ष्य दिएर अन्तिम चेतावनी दिइएको र उक्त जिम्मेवारीअनुरुपको काम पूरा नभए ठेक्का तोडिने आयोजनाले जनाएको छ । परामर्शदाता कम्पनीले चाइना स्टेटलाई आगामी मङ्सिर २५ गतेसम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्र भएको हुनुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् चैत्र १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म सडकको एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ । ठेक्का तोड्ने चेतावनीपछि ठेकेदारले यसै हप्ताबाट पश्चिम खण्डमा काम सुरू गर्ने छलफलमा प्रतिबद्धता जनाएको आयोजना पश्चिम खण्डका प्रमुख मिश्रले बताए । ठेकेदार चाइना स्टेटले बजेट अभावका कारण काम गर्न नसकेको बताउँदै आएको छ । काम छाड्ने स्थितिमा पुगे पनि पछिल्लो समय काम गर्ने प्रतिबद्धताका साथ ठेकेदार कम्पनी फर्किएको बताइएको छ ।

छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले काम नगर्ने भए ठेक्का तोड्नुपर्नेमा जोड दिए । यही ठेकेदारलाई कुर्दा लामो समयसम्म सास्ती खेप्नुपर्ने अवस्था आउन सक्ने भएकोले ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्नेमा उनको जोड थियो । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सडकका कारण जनप्रतिनिधिहरुले गाली खानु परेको भन्दै अब जसरी पनि समयमै सडक निर्माण सम्पन्न गर्न दबाब सृजना गर्नुपर्नेमा जोड दिए ।

छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, जिसस पूर्वी नवलपरासी प्रमुख बाबुराम विश्वकर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल, देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्याल, सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, कावासोती नगरपालिकाकी उपप्रमुख फूलकुमारी थनेतलगायतको सहभागिता रहेको थियो । बैठकले सडक निर्माण तत्काल सम्पन्न गर्न दबाब सृजना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

त्यसैगरी, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही कात्र्तिक २९ गते भेटेर ध्यानाकर्षण गराउँदै सडकको काम सुचारू गराउने विषयमा छलफल गर्ने निर्णय पनि गरेको जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जानकारी दिए ।बुटवल–नारायणगढ सडकखण्डको अहिलेसम्म ५४ प्रतिशतमात्रै काम भएको छ । दुम्किबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने खण्ड अहिले सबैभन्दा जोखिमपूर्ण सडक बनेको छ । यहाँ २ देखि ३ फिटसम्म खाल्डाखुल्डी छन्, जसले गर्दा दैनिकजसो सवारीसाधन बिग्रने र दुर्घटनामा पर्ने गरेको छ । १४ किलोमिटरमात्रै पार गर्न साढे २ घन्टासम्म लाग्ने गरेको छ भने बढीमा ३ घन्टामा पार हुने बुटवल–नारायणगढ सडकखण्ड पार गर्न अहिले ६ घन्टासम्म लाग्ने गरेको छ ।