रत्ननगर , कार्तिक २५ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा भोली सोमबारदेखि चित्रसारी मेला लाग्दैछ । हरेक बर्ष एकदशीको अवसरमा लाग्दै आएको मेला भोली देखि तीन दिन सम्म लाग्ने आयोजक चित्रसेन बाबा मन्दिर संरक्षण समितिले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
मन्दिर संरक्षण समितिले अगुवाई गर्दै आएको मेलामा ४ सय वटा स्टल रहने मन्दिर संरक्षण समितिका अध्यक्ष जलराम महतोले जानकारी दिए । चितवनकै सबैभन्दा पुरानो र ऐतिहासिक मेलाको रुपमा हेरिएको मेलाको सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।
एकादशीमा ब्रत बसेको महिलाहरु चित्रसेन बाबा मन्दिरमा पुजा गर्न आउने र भक्तजनहरु मेलामा रमाउने चलन रहेको छ । ब्रत बसेका महिलाहरुले मेलामा पाइने, फलफुल, उखु,सखरखण्ड लगायतका सामाग्री किनेर घर लैजाने चलन रहेको छ । मेलामा पाइने उखु, सुन्तला सखरखण्ड, बदाम विशेष खानाको रुपमा खाने प्रचलन रहेको छ । सो मेलामा व्यवसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरु रहने छन् ।
राउण्ड बत्ती र रिङ सो मेलामा प्रमुख खेलहरु हुन् । चित्रसारी मेलामा तीन दिनको अबधिमा ६० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । यो धार्मिक मेला हो अध्यक्ष महतोले भने परापूर्वककाल देखि लाग्दै आएकोले यसको महत्व अहिले पनि उत्तिकै छ । मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिदै आएको छ ।
पत्रकार सम्मेलनमा विद्युत व्यवस्थापन संयोजक उमेश लामा,सदस्यहरु भोजराज खनाल,ज्ञान प्रसाद पौडेल,धनराज महतो,इनार परिसर संयोजक नरिश्वर पुरी लगायतको उपस्थिती रहेको थियो ।